NewsKoseli.Com

राजधानीमा मनाइयाे नारायणगोपालको २७औं स्मृति दिवस

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २७औं स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले मंगलबार राजधानीमा सांगीतिक कार्यक्रमको आयोजना गर्‍यो ।

वि.सं. १९९६ असोज १८ मा काठमाडौंको किलागलमा जन्मेका नारायणगोपाल गुरुवाचार्यको वि.सं. २०४७ मंसिर १९ मा निधन भएको थियो ।

प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वरसम्राटको उपाधि दिएको थियो । सयौं गीतमा स्वर–संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पुर्‍याउन निर्वाह गरेको भूमिका अतुलनीय छ ।

५ सयभन्दा बढी गीत गाएकामा नारायणगोपालले आफ्नो जीवनकालमा १ सय ३७ लोकगीत, पापगीत तथा आधुनिक गीतमामा संगीत दिर्इ रेकर्ड गराएका थिए ।

गुरु माणिकरत्न स्थापित र गायक प्रेमध्वज प्रधानको संयुक्त कम्पोजमा रहेको गीत नै नारायणगोपालको पहिलो गीत थियो । नेपाली फिल्मका लागि पनि थुप्रै गीत गाएका उनी २०औं शताब्दीका एक प्रभावशाली गीतकार थिए । काठमाडौंको किलागलमा नेवार समुदायमा जन्मेका नारायणगोपाल गुरुवाचार्य राष्ट्रिय नाचघरको प्रबन्धक तथा सांस्कृतिक संस्थानको प्रबन्ध निर्देशक पनि भए ।

नारायणगोपाललाई स्वरपरीक्षाका लागि गायक प्रेमध्वज प्रधानले रेडियो नेपालमा लगेका थिए । नारायणगोपालले त्यसबेला डा. राममान तृषितले लेखेको ‘पक्षीको पंखामा धर्तीको दियो’ गीतमा स्वरपरीक्षा दिएका थिए । यो पहिलो स्वरपरीक्षामा नै उनी उत्तीर्ण भए ।

नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको ४०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबाट सार्वजनिक कार्यक्रममा गीत–संगीत प्रस्तुत गरे । सो कार्यक्रममा उनले तबलावादकको पनि भूमिका निर्वाह गरे । ‘विछोडको पीडा’ र ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ जस्ता असंख्य जनप्रिय गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍याए ।

उनका गीत तथा संगीत विशेष गरेर प्रेम, जीवन तथा देशभक्तिमा अशक्त थिए । ‘जाग, लम्क–चम्क हे नौजवान हो’, ‘आमा तिमीलाई जलभरिका औंलाले चुम्न’ जस्ता गीत–संगीतसहित ६० को दशकमा गायक तथा संगीतकार गोपाल योञ्जनसँग मिलेर काम गरेपछि उनी प्रेम र वेदनायुक्त गीत सिर्जनामा तल्लीन भए ।

मंगलबारको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वरिष्ठ संगीतकार एवं गायक सीके रसाइलीलाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरे । सम्मानको राशि २५ हजार रूपैयाँ नगद तथा सम्मानपत्र रहेको छ ।

गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चज पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई विशिष्ट गीतकारका रुपमा सम्मान गरियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले नारायणगोपालका कालजायी गीत जति सुने पनि नपुग्ने बताउँदै गीत–संगीत व्यक्तिको जीवनमा अभिन्न अंगका रुपमा रहेको उल्लेख गरे । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नारायणगोपाल आफ्नै सुरतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको स्मरण गरे ।

सम्मान ग्रहण गर्दै वरिष्ठ संगीतकार रसाइलीले नेपालको गीत–संगीत क्षेत्रको विकासमा नारायणगोपालले पुर्‍याएको योगदान अविष्मरणीय भएको बताए । कार्यक्रममा गीतकार कञ्चन पुडासैनी, कलाकार निशा देसार तथा अजर जंगमलगायत नयाँ तथा पुराना गायक–गायिकाले गीत–संगीत प्रस्तुत गरे ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर