NewsKoseli.Com

‘भान्जी’ को जालमा यसरी फसे सेनाका सहायकरथी…

कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । प्रहरीले अनुसन्धान थाल्यो । खुल्यो– घटनाको मुख्य योजनाकार उनै रहिछन्।

प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो । नेक्सस पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रूपैयाँ सेनाका सहायकरथी रमेश विष्टको बैंक खातामा भेटियो । प्रहरी चकित खायो । अब प्रहरीको अनुसन्धान सहायक रथी विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रित भयो ।

अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी विष्टलाई ‘मामा’ साइनो लगाउँदो रहिछन्र विष्ट पनि रेग्मीलाई भान्जी भन्दा रहेछन् । तर, उनीहरूबीचको यो साइनो बाहिर देखाउनलाई मात्र रहेछ । खासमा उनीहरू प्रेमी–प्रेमिका रहेछन् । त्यसो हँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ । सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेको मध्ये करिव ३३ लाख रूपैयाँ विष्टको बैंक खातामा हालिदिएकी रहिछन् ।

प्रहरी उच्च स्रोत भन्छ- विष्ट र रेग्मीबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ । उनीहरूबीच सबैखाले सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो । यो उनीहरूको निजी मामिला हो । यसमा हाम्रो भन्नु केही छैन । हामीले त अपराधको पाटो मात्र हेर्ने हो । यसमा जर’साबको पनि संलग्नता रहेको देखिएको छ ।’ सेनाको हिरासतमा रहेका विष्ट र प्रहरी हिरासतमा रहेकी रेग्मी दुबै विवाहित हुन् ।

सैनिक कानुन अनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दा बाहेक घटना अनुसन्धान गर्न मिल्दैन । त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनि प्रमाणसहित सबै फाइल पठायो । सेनाले उक्त घटनामा छानबिन थालेको छ । यसका लागि विष्टलाई हिरासतमा लिइएको छ । छानबिन पछि दोषी देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाइ छ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायकरथी विष्टमाथि इन्क्वायरी सुरू भइसकेको बताउँछन् । ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी विष्टको संलग्नता हुनसक्ने आधार फेला पर्‍यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि इन्क्वाइरी थालिएको हो ।’

कृषि विकास बैंक न्युरोड शाखामा चार करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन– १ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रूपमा सीआर्इबीले पक्राउ गरेको थियो । हिनामिना भएको रकम खोज्दै जाने क्रममा ट्रेलर रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन् ।

त्यसपछि सिआइबीले डा. विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो । अनुसन्धानका क्रममा हिनामिना गरिएको मध्ये करिब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा भेटिएपछि सिआइबीले आवश्यक कारबाहीका लागि सेनालाई पत्र काटेको थियो । सोही क्रममा सेनाले डा. विष्टलाई हिरासतमा लिई इन्क्वायरी थालेको हो । डा. विष्ट प्राविधिकतर्फका सहायक रथी हुन् ।

प्रहरीका अनुसार सहायक रथी डा. विष्टलाई घटनाकी मुख्य योजनाकार रेग्मी ‘मामा’ भन्ने गर्छिन् । प्रहरी स्रोतले भन्यो– ‘डा. विष्ट र रेग्मीबीच कनेक्सन देखिएपछि प्रहरी अनुसन्धानमा जुट्यो । खोज्दै जाने क्रममा रेग्मीले डा. विष्टलाई ‘मामा’ भन्दिरहिछन् । उनीहरूबीचको सम्बन्ध वास्तविक हो या कृत्रिम, त्यस सम्बन्धमा अनुसन्धान हुँदैछ ।’

प्रहरीले घटनामा संलग्न काठमाडौं– ३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा– ८ का ५६ वर्षीय गोपाल गिरी, चन्द्रागिरि– ५ का ३९ वर्षीय महेश्वर मरहठ्ठा, काठमाडौं– १६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं– ३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेको खबर बुधबारको गज्जब साप्ताहिकमा टेकराज थामीको बाइलाइनमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर