NewsKoseli.Com

तत्काल एमाले–माओवादी एकता नहुने…

काठमाडौं, ५ माघ ।

चुनाव अघिदेखि नै तत्कालै हुने कि केही समय गुजारेर मात्रै हुने भनी व्यापक टीकाटिप्पणीको विषय बनेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताबारे दुवै पार्टीका दोस्रो तहका नेतासम्म पनि अझै अन्योलमा छन् ।

दुवै पार्टीका दोस्रो तहसम्मका नेताहरु अहिले पनि केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुअघि नै एमाले–माओवादी केन्द्रबीच एकता भइसक्ने बताइरहेका छन् । तर, दुवै पार्टीको शीर्ष नेतृत्व र आसपासका स्रोतहरूसँग बुझ्दा यथार्थता त्यस्तो नभएको पाइएको छ ।

कम्तिमा पनि फागुन दोस्रो साताभन्दा अघि यी दुई पार्टीबीच एकता नहुने पक्कापक्की छ । वाम गठबन्धनमा आबद्ध दुई पार्टीको संयुक्त सरकार बनिसकेपछि बल्ल पार्टी एकताको विषयले प्रधानता पाउने भएको छ ।

माघ २४ मा राष्ट्रियसभा चुनाव हुँदैछ । यतिबेला सबै राजनीतिक शक्तिहरुको ध्यान त्यसैमा केन्द्रित छ । राष्ट्रियसभाको चुनाव सकिएर नतिजा आएलगत्तै संघीय संसदका समानुतिक सांसद टुंग्याउने विषयले प्रमुखता पाउनेछ । संघीय संसदले पूर्णता पाएलगत्तै सभामुख–उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष–उपाध्यक्ष चयनको विषय प्रधान बन्नेछ ।

त्यस लगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । यसरी नयाँ सरकार बन्नुअघि एमाले–माओवादी एकताको विषय व्यावहारिक अभ्यासमा नजाने निश्चित छ । नयाँ सरकारको गठनसँगै सत्ता बाँडफाँट, सरकारको पूर्णता, विविधखाले शासकीय एवं राजकीय व्यवस्थापनलगायतका कामले पनि केही समय लिनेछ ।

त्यसपछि बल्ल पार्टी एकताको कार्यसूची प्रबल बन्नेछ । बरु राष्ट्रियसभाको चुनावअघि नै एक पटक पार्टी एकता संयोजन समितिको बैठक बसेर एकतापछिको संगठनात्मक व्यवस्थापन र नीतिगत व्यवस्थापनका लागि कार्यदलहरु भने बन्नेछन् ।

यस्ता कार्यदलहरुको गठनसँगै एक चरण एमाले–माओवादी तीव्र विवादको वातावरण बन्नेछ । एकातिर राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष–उपाध्यक्ष तथा मन्त्रीपरिषदमा स्थान पाउने र नपाउनेका बीचको तिक्तता र द्वन्द्वले पनि दुवै पार्टीमा आन्तरिक खिचलो उत्कर्षमा पुग्नेछ । अर्कातिर, पार्टीका पद र जिम्मेवारी र कार्यक्षेत्र खोसिने चिन्ताले दुवै पार्टीका केही दर्जन नेताहरुमा व्यापक असन्तुष्टि र एकता प्रक्रियाप्रति असहयोगी भूमिका पनि चरमचुलीमा पुग्ने निश्चित छ ।

यिनै असन्तुष्टिहरुमा आधारित रहेर तर सैद्धान्तिक एवं नीतिगत भिन्नतालाई प्रकट गरेर दुवै पार्टीका केही नेताहरुले पार्टी एकता धरमरमै पुगेको भान पार्नेछन् । त्यो स्थिति समालिएपछि बल्ल पार्टी एकताको प्रक्रियाले गति लिनेछ ।

यसरी हेर्दा नयाँ वर्ष– २०७५ को सुरुआत आसपास मात्र दुई पार्टीबीचको एकताले मूर्त रुप लिने देखिन्छ । यो समयसम्म पनि एकता सम्भव नभएमा भने केही समय दुई पार्टीबीच एकता नहुने तर संयुक्त सरकारले गति लिने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर