NewsKoseli.Com

यसकारण डुब्यो नेसनल ट्रेडिङ (३ मुख्य आधार)

सरकारले व्यापारिक कारोबार गर्न १ चैत २०१८ मा नेसनल ट्रेडिङ लिमिटेड (राष्ट्रिय व्यापार निगम) स्थापना गरेको थियो । त्यति बेला दाता मुलुकले अनुदानमा पैसाको साटो वस्तुगत सहयोग नेपाललाई दिने चलन थियो ।

रुस र चीनबाट ठूलै परिमाणमा मेसिनरी उपकरण, ट्रयाक्टर, मोटरसाइकल, सिमेन्ट, रड, कृषि उपकरणलगायत वस्तुगत सहयोगमा प्राप्त हुन्थ्यो नेपाललाई । त्यस्ता सामग्री बिक्री गर्ने सरकारी संयन्त्र नहुँदा कारोबार गर्न नेसनलको स्थापना गरिएको थियो ।

सुरुआतमा दाता मुलुकले दिएका वस्तुगत सहयोगबाट व्यापारिक कारोबार गरेको नेसनलले पछि सरकारी स्वामित्वका हेटौंडा, उदयपुर, वीरगञ्ज चिनी उद्योगलगायत उद्योगबाट उत्पादित सामग्री पनि बजार मूल्यभन्दा सस्तो र सुलभ मूल्यमा बिक्री गर्न थाल्यो । नेसनल ट्रेडिङकै कारण तत्कालीन समयमा काठमाडौंका बासिन्दा अन्तर्राष्ट्रिय स्तरको रड, सिमेन्ट, मेसिनरी उपकरण उपभोग गर्न पाएका थिए ।

राज्यलाई नगद र उपभोक्तालाई सस्तो मूल्यमा सामान बिक्री गर्ने लक्ष्य राखेर सञ्चालन गरिएको नेसनललाई २०२८ सालमा थप वस्तुको व्यापार गर्ने जिम्मेवारी पनि दिइयो। त्यतिबेलासम्म नेपालमा पर्यटकको आगमन बाक्लै हुन थालिसकेको थियो । कूटनीतिक नियोग पनि धमाधाम थपिँदै थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार प्रत्येक मुलुकको विमानस्थलमा डयुटी फ्रिका उच्च गुणस्तरका मदिरा, ह्वीस्की, रमलगायतका पेयजन्य पदार्थ बिक्री गर्ने अवधारणा अघि सारिएको थियो । नेपालमा यस्ता पदार्थ बिक्रीको संयन्त्र खोजी भयो । तत्कालिन सरकारले नेसनललाई नै ड्युटी फ्रिको मदिरा बिक्री गर्न बाटो खोलिदियो, नेसनलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिक्री सप र रामशाहपथमा ब्रान्डेड वेयर हाउस स्थापना गरी मदिरा कारोबार थाल्यो। स्कटल्यान्ड र फ्रान्सबाट मदिरा आयात गरिन्थ्यो ।

नेसनलले बंगलादेश उदय भएपछि उक्त मुलुकमा नेपालबाट चामल र युरोपियन मुलुकमा कच्चा चिनीसम्म निर्यात गरेको थियो । एक अर्बभन्दा बढी मूल्यबराबरको चामल र चिनी निर्यात गरिएको थियो । यो बेलासम्म नेसनल आफ्नो खुट्टामा उभिसकेको थियो ।

यसरी भयो घात–

पहिलो

धरासायी हुने बाटोमा लम्केको नेसनललाई धरापमा पारियो । सरकारी स्वामित्वको हिमाल सिमेन्ट उद्योग बन्द भएपछि कर्मचारीलाई अवकाश दिन नेसनलको करोडौं रकम सरकारले चलायो । त्यो रकम अझै फिर्ता गरिएको छैन ।

हिमाल सिमेन्टमा नेसनलको १५ प्रतिशत शेयर थियो । हिमाल सिमेन्ट बन्द भएपनि हालसम्म नेसनलले शेयर र सरकारले चलाएको रकम गरी करिब ४३ करोड रुपैयाँ अझैसम्म पाएको छैन । यो प्रकरणले नेसनलले धरासायी भएको हो ।

दोस्रो

२०५२ सालमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले युनिभर्सल नामक निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानलाई ड्युटी फ्रि सुविधाअन्तर्गत मदिरा आयात गरी बिक्री गर्ने इजाजत दिए । नेसनलकै समानान्तरमा युनिभर्सलले पनि ड्युटी फ्रिको मदिरा बिक्री गर्न थाल्यो । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा युनिभर्सलको इजाजत रद्द गरियो। दोस्रो पटक प्रधानमन्त्री भएपछि देउवा युनिभर्सललाई फेरि इजाजत दिए । यो इजाजत पछि नेसनल थप जेलियो ।

तेस्रो

नेसनलले हिमालयन बैंकसहित अन्य बैंकसँग ५० करोड रुपैयाँ ऋण लिएर एलसी खोलेर ३२ करोडको मदिराजन्य पदार्थसमेत आयात गरिसकेको थियो । २०६५ मा अर्थमन्त्री भएका डा.बाबुराम भट्टराईले ड्युटी फ्रि आयात गरिएका सम्पूर्ण मदिराजन्य पदार्थको बिक्री वितरण र विमानस्थलमा भएको बिक्री केन्द्र विकल्प बिनै बन्द गर्ने बजेट वक्तव्यमार्फत घोषणा गरे । घोषणा पछि नेसनल आर्थिक रुपमा पूरै जर्जर बन्यो ।

अर्थमन्त्रीको यो कदमपछि ट्रेडिङले बाहिरबाट मदिरा ल्याउने काम बन्द गर्‍यो । ल्याइसकिएको मदिरा ड्युटी फ्रिमा बिक्री गर्न नपाएपछि नेसनलले करसहित बिक्री गर्न खोज्यो, तर प्रशासनिक खर्च अत्याधिक भएर बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि नेसनलले ठूलो घाटा व्यहोर्नुपर्‍यो । समयमा बिक्री नहुँदा बिग्रेर पनि घाटा दर चुलियो । यही बेलामा अर्थ मन्त्रालयले नेसनलको नाममा देशभरका सम्पूर्ण जग्गा रोक्का गरी नेसनललाई बित्तिय कारोबार गर्न नपाउने गरी हात खुट्टा बाँध्यो ।

२०६७ मा डा.भट्टराई प्रधानमन्त्री भएका बेला ट्रेडिङ टेकुमा रहेको करिब १८ रोपनी जग्गा बिक्री गरी पेट्रोलियम र ग्यास उद्योग स्थापना गर्न सञ्चालक समितिमार्फत रणनीतिक योजना तयार पार्न लगायो । जग्गा बिक्रीबाट प्राप्त रकमबाटै ऋण पनि चुक्ता गर्ने सञ्चालक समितिले निर्णय गर्‍यो ।

यो निर्णयलाई तत्कालीन वाणिज्य, अर्थ मन्त्रालयसहित मन्त्रिपरिषद्ले समेत अनुमोदन गरेको थियो । निर्णय कार्यान्वयनमा आउन नपाउँदै खिलराज रेग्मी नेतृत्वको सरकार बन्यो । रेग्मी सरकारले भट्टराई सरकारले स्वीकृत गरेको रणनीतिक योजनालाई खारेज गरी विकल्पविहीन बनाएको खबर राजेश बर्माको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर