NewsKoseli.Com

धुर्मुस–सुन्तलीद्वारा निर्मित नमूना वस्ती राष्ट्रपतिद्वारा हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित वस्तीको साँचो मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नमूना वस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेकी छन् ।

चन्द्रपुर नगरपालिका वडा नं. ८, सन्तपुरमा निर्मित नमूना दलित वस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्– “देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ, यो एकदमै अतुलनीय छ ।”

प्रदेश नंं. २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत–साधनकाे अधिकतम उपयोग गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिइन् । फाउन्डेसनले वस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि कल्याणकारी कामको अनुपम उदाहरण दिएको उनले बताइन् । कलाकारको प्रयासबाट यस्तो नमूना वस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नुपर्ने उनले बताइन् ।

लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिनुपर्नेमा जोड दिँदै सभ्य र न्यायपूर्ण समाजका लागि जनसमुदायमा यस्ता खालका कार्यक्रम लैजानुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । सरकारले विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याउने प्रयास गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले रौतहटलाई कृषिको भण्डारका रुपमा विकास गर्न समेत आग्रह गरिन् ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताए । हास्यकलाकार मह जोडीले पनि नमूना वस्तीको खुलेर प्रशंसा गरे । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सबै सहयोगी हातहरूबाट वस्ती निर्माण सम्भव भएको बताए ।

कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएका छन् । असोज ४ मा शिलान्यास भएको सो नमूना वस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब र दृश्यावलोकन स्तम्भ समेत निर्माण भएका छन् ।

साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेका थिए । करिव ५ करोड ९५ लाख रूपैयाँको लागतमा निर्मित सो वस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैं खटेका थिए । सो वस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताए । याे धुर्मुस–सुन्तली फाउन्डेसनको चौथो परियोजना हो ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर