NewsKoseli.Com

६ नं. को मुख्यमन्त्री छान्न २ पूर्वगृहमन्त्री सुर्खेतमा

एमाले–माओवादी केन्द्र भागबन्डामा प्रदेश ६ र ७ को मुख्यमन्त्री पाएको माओवादी केन्द्रमा ६ नं. प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार टुंगो लाग्न नसकेपछि त्यसलार्इ सल्टाउन भन्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुगेका छन् ।

६ नं. को मुख्यमन्त्रीबार फरक–फरक मत राख्दै आएका पूर्वगृहमन्त्रीद्वयबीच मंगलबार साँझ बैठक बसेको थियो । बैठकमा उनीहरूबीच एकापसमा मिलेरै मुख्यमन्त्री टुङ्ग्याउने सहमति भएको छ । समग्र ६ नं. प्रदेशको समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी माओवादी केन्द्रका २ पूर्वगृहमन्त्रीबीच भएको बताइएको छ ।

मुख्यमन्त्री चयनलगायतका विषयमा छलफल गर्न बुधबार बिहान ११ बजे ६ नं. प्रदेशमा रहेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरुको बैठक बोलाइएको नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिएका छन् । लामो समयदेखि फरक–फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिए ।

२ पूर्वगृहमन्त्रीबीच सहमतिपछि निर्णय आफ्नै पक्षमा हुने अपेक्षा मुख्यमन्त्रीको दाबी कायम राखेका सांसदद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाही दुवैले गरेका छन् । पूर्वगृहमन्त्रीद्वयबीचको बसाइबाट सही निर्णय आउनेमा नेता–कार्यकर्ता पनि आशावादी देखिएका छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर