NewsKoseli.Com

प्रचण्डले गरे ‘अप्रत्याशित फड्को मारिन सक्ने’ संकेत

भरतपुर, २७ माघ ।

नयाँ सरकार गठन र एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको चौतर्फी चर्चा चलिरहेका बेला समकालीन राजनीतिका एक निर्णायक नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूबाट ‘अप्रत्याशित फड्को मारिन सक्ने’ संकेत गरेका छन् ।

शुक्रबार अपराह्नका लागि निर्धारित भएको एमाले–माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिको बैठक एकाएक स्थगित भएलगत्तै चितवन हान्निएका प्रचण्डबाट आएको यस्तो संकेतलार्इ समसामयिक राजनीतिक सन्दर्भमा ठूलै महत्त्वका साथ हेरिएको छ । बिहीबार अपराह्न केपी ओली–प्रचण्डबीच गोप्य वार्ता हुनु, सो वार्ताले तोकेको शुक्रबारको संयोजन समिति बैठक स्थगित हुनु र लगत्तै प्रचण्ड चितवन पुग्नु अनि शनिबार यस्तो अभिव्यक्ति आउनुका पछाडि गम्भीर राजनीतिक अर्थ रहेको जानकारहरूको ठम्याइ छ ।

एमाले–माओवादी केन्द्रबीच समग्र पक्षमा ६०–४० को भागबन्डा र एउटा पार्टीका प्रमुखले चुनावपछि नयाँ सरकारको नेतृत्व गर्ने अनि अर्को पार्टीका प्रमुखले एकीकृत संयुक्त पार्टीको अध्यक्ष बनेर नेतृत्व गर्ने सहमति दुवै पार्टीका शीर्ष नेताहरूबीच भएको थियो । चुनावी नतिजालार्इ आधार बनाएर चुनावछि एमाले नेताहरूले क्रमबद्ध रूपमा माओवादीलार्इ च्याप्दै जान थालेपछि झन्डै ५ महिना हुन लाग्दा समेत दुर्इ पार्टीबीचको एकताले आकार ग्रहण गर्न सकेन ।

यतिबेला सरकारको नेतृत्व पनि एमाले अध्यक्ष ओलीले गर्ने र एकीकृत पार्टीको नेतृत्व पनि उनैले गर्ने तथा एमालेले दशकौंदेखि भट्याउँदै आएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ लार्इ पनि यथास्थितिमै राखेर ती सबैभित्र माओवादी केन्द्र बिलिन हुनुपर्ने जिद्धि एमाले पक्षबाट हुँदै आएको छ । र, बिहीबारको ओली–प्रचण्ड छलफलमा पनि तत्काल ओलीको नेतृत्वमा सरकार बनाइहाल्ने र पार्टी एकताको विषय सरकार गठनको काम सकिएपछि मात्रै अघि बढाउने प्रस्ताव केपी ओलीले राखेका थिए । तर, प्रचण्डले भने एकता र सरकारका दुवै विषय एकैसाथ नटुंग्याइए राजनीतिक कोर्षले बेग्लै स्वरूप लिन सक्ने चेतावनी ओलीलार्इ दिएका थिए ।

एकताको विषय अलपत्रै छाडेर सरकार गठनको काम मात्र अघि बढाइए माओवादी केन्द्र सरकारमा नजाने, बाहिरै बसेर ओली नेतृत्वको सरकारलार्इ निःशर्त समर्थन गर्ने जानकारी दुर्इ शीर्ष नेताबीचको बिहीबारको छलफलमा प्रचण्डले ओलीलार्इ दिएको स्रोतको दावी छ । यसरी दुर्इ नेताबीच फरक–फरक धारणा आइरहेकै बेला शुक्रबार बस्ने भनिएको संयोजन समितिको बैठक स्थगित भयो र प्रचण्ड चितवन हान्निए ।

शनिबार चितवनमा एक कार्यक्रमलार्इ सम्बोधन गर्दै देश र जनताको हितका लागि आफू जस्तोसुकै भूमिका खेल्न तयार रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राजनीतिक संकटबाट देशलाई निकास दिन आफूले मियोका रुपमा भूमिका खेल्दै आएको अध्यक्ष प्रचण्डले बताए ।

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै देश संकटमा परेका बेला विगतमा र अहिले पनि आफूले सबै समूह र शक्तिबीचको तिक्तता र विवादलाई साम्य पारी निकासतर्फ अघि बढाउने भूमिका खेलेको प्रचण्डले बताए ।

‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु’, अध्यक्ष प्रचण्डले भने– ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो, शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु ।’

‘मलाई व्यङ्ग्य गर्नु आवश्यक छैन’, प्रचण्डले भने– ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित हुँदैन भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ किनभने प्रचण्ड भनेकै त्यही भइसक्यो, अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने मेरो स्वाभाव हो ।’

देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदुरका पक्षमा लामो लडाइँ लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो’ भन्दै प्रश्न गरे ।

गिरिजाप्रसाद कोइरालासँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै अध्यक्ष प्रचण्डले भने– ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग्य गर्नेहरु पनि छन् तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरि फैलाउने विभूति भएको बिर्सिन मिल्दैन ।’

संविधान निर्माणका बेला देखिएका जटिलताका बीच प्रतिपक्षको भूमिका छाडेर मियोको रुपमा काम गरेको, संविधान निर्माण र कार्यान्वयनका बेला विभिन्न पार्टी र समूहबीच तिक्तता बढेका बेला मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– ‘इतिहासमा मेरो भूमिका राजनीतिक शक्तिदेखि विभिन्न सामाजिक, सांस्कृतिक, भौगौलिक, जातजाति, समूह, वर्गका बीचका विवादलाई साम्य पार्ने मियोका रुपमा रहँदै आएको छ र अहिले पनि म सबैको भूमिकाको मूल्यांकन गर्दै समृद्धिको यात्राको संकल्प बोकेर अघि बढेको छु ।’

दोस्रो पटक प्रधानमन्त्री बन्दाका सन्दर्भको चर्चा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि आफूले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेको बताए । देश नै टुक्रिने हो कि भन्ने आशंका रहेका बेला सबैलाई एकै ठाउँ ल्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार पार्नु निकै ठूलो चुनौती भए पनि जनताप्रतिको उत्तरदायित्वबोध गरेर सबैलाई मिलाएर अघि बढ्न सकेको उनले बताए ।

‘मेरो भूमिका देखेर नै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईंको काँधमा छ भनेर अस्पतालको सैय्याबाट भन्नुभएको थियो । मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेका बेला गाँठो फुकाउने र जनतालाई अधिकारसम्पन्न बनाउने रहँदै आयो, प्रचण्डले भने– ‘अहिले पनि यही भूमिकामा छु र भोलिका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु ।’

धार्मिक कार्यक्रममा सहभागी हुने कुरालाई गलत रुपमा चित्रण गरिएकामा आपत्ति जनाउँदै राज्यले धार्मिक आस्थाका आधारमा विभेद गर्दै आएकाले धर्मनिरपेक्षताको लडाइँ आफूहरुले नै लडेको जिकिर प्रचण्डले गरे । ‘व्यक्तिको धार्मिक आस्थाको हामीले सधैं सम्मान गर्छौं तर राज्यका लागि सबै धर्म समान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’– उनले भने ।

‘त्यसैले म सबै धर्मका कार्यक्रममा समान रुपमा सहभागी हुँदै आएको छु, हिजोका दिनमा मार्क्स, लेनिन र माओले धर्म जनताका लागि अफिम हो भने पनि जनताको धार्मिक आस्थाको उहाँहरुले पनि सम्मान गर्नुभएको हामी पाउँछौं तर राज्यले कुनै धर्मलाई काखा र कुनैलाई पाखा लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो’– प्रचण्डले भने । उनले गुम्बाको उदघाटनका साथै अवलोकन समेत गरे ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर