NewsKoseli.Com

धनाढ्‍य रक्षामन्त्रीलाई प्रधानमन्त्रीले किन दिए ५० लाख ?

उपचार खर्च अभावमा सानो रोगका कारण धेरै नेपालीले अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक–एक रुपैयाँ जुटाउन सडकमा ‘भिख’ मागिरहेका भेटिन्छन् ।

सरकारले व्यवस्थित रुपमा सर्वसाधरणलाई थोरै मात्र उपचार खर्च वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर, बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूकहाँ पहुँच बनाउने र आफ्ना आसेपासेलाई मुठ्ठी खोलेर राज्यकोषको रकम धमाधम बाँडिरहेका छन् ।

काठमाडौंका स्थायी वासिन्दा तथा धनाढ्य एक मन्त्रीलाई देउवाले धक फुकाएर र मुठ्ठी खोलेर राज्यकोषको रकम प्रदान गरेका छन् । यी मन्त्रीलाई न कुनै ठूलो रोग लागेको छ न त कुनै ठूलो विपत्ति या संकट ! बाहिरिने बेलामा उनले पनि राज्यको ढुकुटीबाट ठूलै पोको लिएर निस्कने भएका छन् ।

काठमाडौंका स्थायी वासिन्दा तथा धनाढ्य मन्त्रीका रुपमा चर्चित देउवा सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् । मन्त्रिपरिषदबाट निर्णय गराएर काठमाडौं- २७ का स्थायी वासिन्दा रक्षामन्त्री भीमसेनदास प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि सर्वत्र व्यापक आलोचना सुरु भएको छ ।

काठमाडौंका रैथाने अरबपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गरी ‘उपचार खर्च’ वापत यति ठूलो रकम एकैचोटी उपलब्ध गराउने निर्णय शुक्रबारै गरिसकेको छ । काठमाडौं- ६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् समेत रहेका प्रधानसँग अरबाैंकाे सम्पत्ति रहेको कुरा उनले पेस गरेको सम्पत्ति विवरणले नै प्रष्ट देखाएको छ ।

कति छ प्रधानको सम्पत्ति ?

– उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गरेको सम्पत्ति विवरण अनुसार उनीसँग करोडभन्दा माथिको सम्पत्ति छ । उनीसँग काठमाडौं महानगरपालिका- २७ मा ५ आना ३ पैसा २ दाम जग्गा छ । त्यसैगरी नागर्जुन नगरपालिका- ६ इचंगुमा ४२५.०६ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन पनि उनीसँगै छ ।

– उनको घर अहिले काठमाडौं महानगपालिका- २७ स्थित ज्याठामा रहेको छ । प्रधानले आफ्नो जग्गाजमिन तथा अन्य जायजेथाको सबै विवरण समेत पेस गरेका छैनन् । उनको सम्पति विवरणमा ७ थान हीराजडित गहना पनि रहेको उल्लेख छ ।

– त्यसैगरी २० तोला सुन र ७ किलोग्राम चाँदीका गहना आफूसँग रहेको उनले जनाएका छन् । त्यसैगरी नेपाल बैंक लिमिटेड कान्तिपथमा ७५ हजार र एभरेस्ट बैंक सिंहदरबारमा ४ लाख ५१ हजार ३५ रुपयाँ रहेको उल्लेख छ । उनको अन्य धेरै स्थानमा भएको लगानी र सेयरको विवरण समेत सम्पति विवरणमा पेस गरिएको छैन । उनीसँगै अन्य मन्त्रीले पनि आफ्नो धेरै सम्पति लुकाएको आरोप लागिरहेको छ ।

– काठमाडौंमा कांग्रे‍सका चर्चित नेता प्रधानले सम्पत्ति विवरणमा आफ्नो जायजेथा स्पष्ट खुलाएका छैनन् । स्वच्छ छविका नेता मानिने प्रधानले ५० लाख सहयोग लिएपछि पार्टीभित्रैबाट पनि कडा आलोचना खेप्नु परेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर