NewsKoseli.Com

वामदेवको प्रस्ताव : प्रचण्डलाई सेरेमोनियल अध्यक्ष, एमालेबाट शक्तिशाली महासचिव

एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिँदै एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र मार्क्सवादी एकीकरण गर्दाको यस मोडल अनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

माले–मार्क्सवादी एकीकरणपछि बनेको एमालेमा तत्कालीन मार्क्सवादीका अध्यक्ष मनमोहन अधिकारी एमालेमा अध्यक्ष भएका थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेका थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपति पनि बनाउन सकिने वामदेवको भनाइ छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार छलफल हुने भएको छ । आइतबार बस्ने भनिए पनि प्रचण्ड व्यस्त रहेका कारण भेटवार्ता हुन नसकेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

दुई नेताबीच सैद्धान्तिक–वैचारिक र सांगठनिक एकताको मोडालिटीमा आन्तरिक समझदारी भएपछि ठोस रूप दिने गरी छुट्टाछुट्टै कार्यदल बनाएर गृहकार्य अघि बढाउने पछिल्लो समझदारी छ ।

कार्यदलको गृहकार्य टुंगिएपछि एकता अन्तिम चरणमा पुग्ने दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन् । नेतृत्वका लागि अध्यक्ष, सहअध्यक्ष र महासचिव, दुवै नेता अध्यक्ष या सहअध्यक्ष हुने, एउटालाई सर्वोच्च नेता बनाएर दुवै पार्टीबाट सहअध्यक्ष प्रमुख नेताका रूपमा रहनेलगायतका मोडालिटी छलफलमा रहेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर