NewsKoseli.Com

प्रेमका लागि जसले त्यागे धर्म र जमिनदारी…

जर्मन तानाशाह हिटलर भन्थे– ‘प्रेम होइन, युद्ध गर्नोस् किनभने युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ तर प्रेममा तपाईं न बाँच्नुहुन्छ न मर्नुहुन्छ ।’ तर, सत्यनारायण दास यादवले प्रेम गरे र प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’ को स्थिति झेलिरहे ।

धनाढ्य जमिनदारका छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे । ०३१–३२ सालतिर नेपालमा प्रेम उनको दुस्साहस थियो । तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो ।

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन् । जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए । हात्ती पाल्थे । घरमा सयौं नोकरचाकर हुन्थे । यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो । सात खुन माफ थियो जमिनदारका लागि । कानुन उनीहरूकै मुठीमा थियो ।

सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो । उनले आफ्नै घरमा काम गर्न आउने एक जना गरिब मुस्लिम युवतीलाई प्रेम गरे । र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए । घरबाट निकालिए । फुटपाथमा पुगे । जिन्दगीभर अभाव झेले । त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेकै छ ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी धुम्धुम्ती एक्लै बसिरहेका थिए । भर्खरै नबाज पढेर सकाएका थिए । गोजीमा राखेका थिए सेतो टोपी । खरानी रङको खास्टो गम्लङ्ग ओढेका थिए । सेतै फुलेको थियो कपाल । माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा ।

पटक-पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम-इतिहास खोल्न चाहेनन् । आफ्नै छोराका अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो । सायद छोराले कुरा बुझे, उनी बाहिरिइदिए ।

४०–४२ वर्षअघिकाे एउटा प्रेमकथा यसरी अंकुराएको थियो–

त्यो दिन असारको झरीले देहाती माटो लछप्पै भिजेको थियो । खेतमा नारिएका थिए दर्जनौं हल गोरु । कोही ब्याडमा धानका बिउ उखेलिरहेका थिए, कोही छुपुछुपु धान रोपिरहेका थिए । एउटा उत्सव चलिरहेको थियो खेतमा ।

त्यही उत्सवकै बीच एक जना सुकिलो अल्लारे युवा खेतको आलीमा उभिन आइपुगे । हिलाम्मे खेतमा धान रोपिरहेका रोपाहारहरूलाई एकतमासले हेरिरहेका थिए । एक जना सुन्दरीको हँसिलो मुहारमा पुगेर टक्क रोकिए उनका आँखा । ती युवा थिए, जमिनदार हृदयनारायणका कान्छा छोरा सत्यनारायण । परिवारमा उनलाई ‘भृगु’ भनेर मायाले बोलाउँथे ।

बिहारमा म्याट्रिक पढ्न बसेका उनी बिदामा गाउँ आउँदा टहलिन खेततिर निस्किएका थिए । सत्यनारायणले ती युवतीलाई धेरैबेर एकोहोरो हेरिरहे । उनी थिइन् १६ वर्षीया रसुलिया खातुन । सत्यनारायणलाई अहिले पनि उनको रूप र बान्कीको ताजा स्मृति छ । भन्छन्– ‘उनी गोरी थिइन् । हँसिलो चेहरा, मिलेको जिउडाल । भुतुक्कै पार्ने मुस्कान । परीजस्तै थिइन् रसुलिया ।’

रसुलिया गरिब मुस्लिम परिवारकी एक्ली छोरी । उनको दुई पुस्ताले सत्यनारायणको खेतमा काम गरिसकेको थियो । उनी पनि आमासँगै धान रोप्न आएकी थिइन् । उनी औरही गाउँकै सुन्दर मुस्लिम युवती थिइन् । उनको सुन्दरताबारे गाउँदेखि परपरसम्म चर्चा हुन्थ्यो । सत्यनारायण पनि हेरेको हेर्‍यै भएको सत्यकथा राजु स्याङतानको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर