NewsKoseli.Com

यसरी टुंग्याइदिए ओली–प्रचण्डले दुई पार्टीबीचको एकता…

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुर्इ पार्टीबीच एकताको टुंगो लगाएका छन् ।

उनीहरूले सोमबार र मंगलबार लगातार वन–टु–वन बैठक बसेर एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता सहअध्यक्ष रहने र सरकारको नेतृत्व पालैपालो गर्ने मोडलमा समझदारी गरेका हुन् ।

एकता घोषणापछिको निरन्तर छलफललाई निर्णांयक मोड दिँदै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीमा दुवैजना सहअध्यक्ष रहने गरी संक्रमणकालीन मोडलमा सहमति भएकाे हाे ।

एकता संयोजन समितिको बुधबार बस्ने बैठकले एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी टुंगो लगाउनेछ । अध्यक्षद्वय ओली र प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

मंगलबार बेलुकी ओली र प्रचण्डबीच ललितपुरमा साढे दुई घन्टा छलफल भएको थियो । छलफलले एकताको मोडालिटी टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘दुई अध्यक्षले पार्टी एकताको मोडालिटी टुंगो लगाउनुभएको छ,’ ज्ञवालीले भने– ‘उहाँहरूबीच भएको अन्तिम समझदारी अनुसार बुधबार एकता संयोजन समितिको बैठक बस्नेछ र सोही अनुसार निर्णय हुनेछ ।’

पार्टी एकतासँगै केपी ओलीले प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नेछन् भने पार्टीकाे कार्यकारी प्रमुखका रूपमा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेछन् । एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दैछ ।

पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार तथा स्वरूप, सैद्धान्तिक–वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् । दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेन्डा जानकारी नगराएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए ।

‘वार्ताबाट एकताको मोडालिटी टुंगिएको जानकारी भए पनि एजेन्डाबारे कुनै जानकारी दिनुभएको छैन, सबै कुरा संयोजन समितिको निर्णयपछि बाहिर ल्याउने तयारी छ’– गौतमले भने । प्रचण्डसँगको अन्तिम समझदारीपछि ओलीले मंगलबार बेलुकी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका केही निकटस्थ नेताहरूसँग सुझाव लिएका छन् ।

बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार बिहान पनि दुई अध्यक्षबीच छलफल हुने र दिउँसो एकता संयोजन समितिको बैठक बस्ने जानकारी ज्ञवालीले दिए । ‘बिहान दुई अध्यक्षबीच एक पटक छलफल हुन्छ र दिउँसो एकता संयोजन समिति बैठक बसेर सबै कुरा टुंगिन्छ’– उनले भने ।

स्रोतका अनुसार दिउँसो २ बजे संयोजन समितिको बैठक बस्नेछ । वैचारिक र सैद्धान्तिक विषयमा कार्यदलमार्फत गृहकार्य गर्ने दुई दलबीच समझदारी छ । समाजवादउन्मूख समृद्धिको कार्यदिशामा अघि बढ्ने, जबज र २१औं शताब्दीको जनवादका समानताहरूको पहिचान गर्ने र हल हुन नसकेका विषयलाई एकता महाधिवेशनमा लैजाने दुई दलबीच समझदारी छ ।

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भ्रातृ संगठनहरूको एकताको विधि र प्रक्रियालगायतका विषयमा कार्यदलले गृहकार्य गर्ने खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर