NewsKoseli.Com

दल साना, नेता ‘ठूला’ !

काठमाडौं, २ फागुन ।

एउटा भनाइ नै छ, कम्युनिस्ट पार्टीको नेतृत्व परिवर्तन उति सहज हुँदैन । ‘जसको नीति, उसकै नेतृत्व’ भन्ने कम्युनिस्ट सिद्धान्त छ । नेतृत्वमा रहेका नेताको मृत्यु नहुन्जेल नयाँ नेता जन्मिन कठिन हुने कम्युनिस्ट प्रवृत्ति नेपालका केही साना कम्युनिस्ट दलमा पनि लागू हुन्छ ।

उसो त नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेमा भने नेतृत्व हस्तान्तरण लोकतान्त्रिक प्रक्रियाबाट हुँदै आएको छ । एमालेले ५/५ वर्षमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै आएको छ तर केही साना कम्युनिस्ट पार्टीमा भने नयाँ नेतृत्व नआएको दशकौं भइसकेको छ ।

सानो संगठन त्यसमा पनि अधिकांश नेतृत्वकै विश्वासपात्रको झुण्ड, त्यसैले कतिपयले साना दललाई नेतृत्वको भजनमण्डली भन्दै आलोचना गर्ने गरेका छन् । उनीहरू नेतृत्वको विकल्प खोज्नुभन्दा त्यही नेतृत्वबाट लाभ लिन सक्रिय हुने भएकाले पनि साना दलमा नयाँ नेतृत्व आउन नसकेको राजनीतिक विश्लेषक बताउँछन् ।

वि.सं. २०१३ देखि औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा होमिएका नारायणमान बिजुक्छे त्यसबेला पुष्पलाल समूहमा थिए । नेतृत्वसँग सैद्धान्तिक रूपमा असहमति जनाउँदै बिजुक्छेले आफ्नै नेतृत्वमा वि.सं. २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्थापना गरेका थिए । चार दशकदेखि उनी अनवरत नेमकिपाको अध्यक्ष छन् । नेमकिपाका सचिव प्रेम सुवाल यसलाई स्वाभाविक ठान्छन् । कम्युनिस्ट पार्टीमा जसको नीति उसकै नेतृत्व हुने भएकाले बिजुक्छेको विकल्प नखोजिएको उनी बताउँछन् । उनी भन्छन्– ‘उहाँकै विचारमा पार्टी चलेको छ, उहाँको नेतृत्व सफल हुँदै आएको छ । त्यसैले उहाँको विकल्प खोज्ने बेला भएको छैन ।’

वि.सं. २०४८ सालपछि भएका सबै चुनावमा भक्तपुर १ बाट निर्वाचित हुँदै आएका बिजुक्छे मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएनन् । पार्टीभित्र दोस्रो पुस्तालाई अवसर दिनुपर्ने भन्दै उनले उम्मेदवारी नदिएको बताएका थिए । भक्तपुरमा बलियो प्रभाव रहे पनि अन्य जिल्लामा भने नेमकिपा निकै कमजोर देखिन्छ।

सक्रिय राजनीतिज्ञमध्ये पाका नेता हुन् चित्रबहादुर केसी । उमेर र अनुभवले खारिएका केसी अहिलेका धेरै कम्युनिस्ट नेताहरूका पनि गुरु हुन् । वि.सं. २०५२ मा स्थापित राष्ट्रिय जनमोर्चाको संस्थापक अध्यक्ष केसी त्यसपछि अनवरत पार्टी नेतृत्वमा छन् । उनी वि.सं. २०५६, २०६८ र २०७२ मा भएका महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुँदै आएका छन् । वि.सं. २०४६ को परिवर्तनपछि अत्यधिक बढेको राजनीतिक भ्रष्टाचारबाट निकै टाढा रहेका सदाचारी नेता मानिन्छन् केसी । जनमोर्चाको जननी पार्टी नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंह पनि नेतृत्वमा रहेको दशकौं भइसकेको छ ।

राजनीतिशास्त्रका प्राडा. सुरेन्द्र केसी दलका नेताहरूले पार्टीलाई बिर्ताजस्तै बनाएकाले नयाँ नेतृत्व आउन नसकेको बताउँछन् । उनी भन्छन्– ‘नेताहरूले पार्टीलाई निजी कम्पनीजस्तै बनाएका छन् र पार्टी कार्यकर्तालाई मजदूर ठान्छन् । दललाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्छन् ।’ उनी नेतृत्व हस्तान्तरणको समस्या साना दलमा मात्र नभएर ठूला दलहरूमा पनि उत्तिकै रहेको दाबी गर्छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित नेता हुन्, सीपी मैनाली । वि.सं. २०२८ मा भएको झापा विद्रोहमा संलग्न मैनाली वि.सं. २०३५ सालमा गठित नेकपा मालेका पहिलो महासचिव हुन् । विभिन्न नाममा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकत्रित गर्ने ध्येयले उनीसहित नेताहरूको पहलमा नेकपा माले गठन गरिएको थियो । मालेपछि नेकपा एमाले पार्टी बन्यो ।

आन्तरिक द्वन्द्वका कारण वि.सं. २०५४ सालमा एमाले विभाजित भयो र फेरि माले गठन भयो तर वि.सं. २०५८ मा मालेका तत्कालीन नेता वामदेव गौतमसहित ठूलो समूह एमालेमै फर्कंदा मैनाली भने मालेमै रहे । त्यसपछि पार्टी महासचिव बनेका मैनाली दुई दशक पुग्न लाग्दा पनि नेतृत्वमै छन् । प्राडा. केसी भन्छन्– ‘साना दलहरूमा त यतिसम्म समस्या छ कि नेतृत्वविरुद्ध बोल्दा कि त कारबाहीका लागि तयार हुनुपर्छ कि पार्टी छाड्नुपर्छ ।’ उनी साना दललाई पार्टीभन्दा पनि स्वार्थसमूह भन्छन् ।

अहिले ठूला दुई वामघटक माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको छ तर यी साना वामदल भने यो एकताबाट टाढै छन् । राजनीतिक रूपमा बिलयको स्थितिमा पुग्दा समेत यी दल अझै छुट्टै अस्तित्व कायम राख्न लागिपरेका छन् । कतिपयले भने यसलाई आफ्नो नेतृत्व गुम्ने चिन्ताले विलयको स्थिति आउँदा समेत पार्टी एकीकरणमा सहभागी नभएको टिप्पणी गरेको खबर खगेन्द्र भण्डारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर