NewsKoseli.Com

‘जनयुद्ध दिवस’ मा प्रचण्डको सम्बोधन : ‘ओलीले जनयुद्ध स्वीकारे’ (भाषणको मुख्य अंशससहित)

नेकपा (माओवादी केन्द्र) ले २३औं जनयुद्ध दिवस धुमधामसँग मनायो । जनयुद्ध दिवसको अवसरमा मंगलबार राजधानीसहित सातै प्रदेशमा विविध कार्यक्रम भए ।

जनयुद्ध दिवसको संयोजन गरेको वाईसीएलले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कार्यक्रम राखेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरे ।

पार्टीका नेता रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठलगायत पनि कार्यक्रममा सहभागी भए । पार्टीका युवानेता युवराज चौलागाईं, महिला संघकी अध्यक्ष अमृता थापा मगर, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, जनसांस्कृतिक मञ्चका अध्यक्ष सरल सहयात्रीलगयतले पनि कार्यक्रममा मन्तव्य राखे । सबैजसो वक्ताका अभिव्यक्तिको सार थियो– ‘अब जनयुद्ध दिवसलाई एउटा पार्टीको मात्र नभई सबै कम्युनिस्टहरूको साझा उत्सवका रूपमा राष्ट्रिय पर्व बनाइनुपर्छ ।’

‘नेपाल नयाँ क्रान्तिको युगमा प्रवेश गरेको छ र लक्ष्य पूरा गर्न ठूलो दायरा, धेरै जनता र धेरै कार्यकर्ता तथा धेरै ठूलो मलिलो जमिन चाहिएको छ’, कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने– ‘त्यसका निम्ति नेपालका सबै कम्युनिस्टहरूलार्इ एक ठाउँमा ल्याउनुपर्छ र ती सबैको केन्द्र बनाउने भूमिका हामीले पूरा गर्नुपर्ने छ ।’

प्रचण्डको सम्बोधनको मुख्य अंश–

जनगणतन्त्र स्थापना गर्ने र नेपाली समाजलाई समाजवादसँगै साम्यवादको दिशामा अगाडि बढाउने उद्देश्यका साथ २०५१ साल फागुन १ गते विद्रोहको झन्डा उठाएको आज २३ वर्ष बितेछ । हामी भर्खरको युवा हुँदा जनयुद्ध गर्ने, सशस्त्र संघर्ष गर्ने, सामाजिक परिवर्तनका निम्ति हतियार उठाउने जमर्को २०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा अगाडि नै गरेका थियौं । तर, देशको राजनीतिक परिस्थिति, तत्कालीन निरंकुश पञ्चायतकाविरुद्ध सम्पूर्ण तागतका साथ सबै राजनीतिक दलहरू मिलेर आन्दोलन गर्नुपर्ने थियो । त्यसकारण, अहिले के सम्झिएको छु भने– म त्यतिबेला भर्खरै सानो पार्टीको महामन्त्री थिएँ । देशमा सशस्त्र संघर्ष सुरु गर्ने कि ठूलो जनआन्दोलनमार्फत् सहभागी हुने भन्ने गम्भीर प्रश्न खडा भयो ।

त्यतिबेला केही हतियार जम्मा गरिएको थियो र तालिम लिइसकिएको थियो । म नै सशस्त्र संघर्षको प्राविधिक प्रमुख पनि थिएँ । पार्टीको पनि प्रमुख भएपछि हाम्रा अगाडि प्रश्न खडा भयो । छापामार युद्ध सुरु गर्ने कि जनआन्दोलनमा सहभागी भएर पञ्चायत ढाल्ने रु मैले त्यतिबेला सोचेर पार्टीमा प्रस्ताव गरें– यतिबेला छापामार युद्ध गर्नु भनेको पञ्चायतलाई सहयोग गर्नु सरह हो ।

किनकि हामीले तुरुन्तै छापामार युद्ध सुरु गरेको भए जित्न सकिँदैनथ्यो । त्यतिबेला जनता पञ्चायत ढाल्ने मुडमा आइसकेका थिए । सबै राजनीतिक दलहरू पञ्चायतविरोधी आन्दोलनको पक्षमा छन् । त्यसकारण सशस्त्र संघर्ष गर्ने एजेन्डालाई थाती राखेर पञ्चायत ढाल्न कांग्रेस, तत्कालीन माले, अन्य विभिन्न पार्टीहरू मिलेर संयुक्त रूपमा जनआन्दोलन र वाममोर्चा हुँदै हामी पनि सहभागी भयौं ।

०४६ सालको जनआन्दोलनबाट निर्दलीय निरंकुश पञ्चायती तानाशाही व्यवस्था सदाका लागि अन्त्य भयो । देशमा बहुदल आयो । बहुदल आउने बित्तिकै बहुदल नै सबै चिज हो भनेजसरी कुप्रचार गरियो । त्यतिबेला हामी बहुदल केही पनि होइन भनेर भ्रम चिर्न लाग्यौं । हामीले राजतन्त्र, सामन्तवाद, विदेशी हस्तक्षेप कायमै रहेकाले बहुदल आउँदैमा जनताका समस्यामा खासै तात्त्विक फरक पर्नेवाला छैन भन्यौं । जनतालाई धेरै ठूलो परिवर्तन आयो भन्ने लागेको थियो । हामीले धोका हो भनेर त भन्यौं तर धोका नै हो भनेर जनतालाई बुझाउनका लागि हाम्रो तागतले सक्ने स्थिति थिएन ।

हाम्रो सानो समूह जनतालाई बुझाउने हैसियतमा थिएन । त्यतिबेला लाखौं–करोडौं जनता पञ्चायतमाथिको जित नै ठूलो जित हो भनिरहेका थिए । त्यतिबेला फेरि एउटा प्रश्न खडा भयो, सानो समूहको पार्टी र महासचिवको हैसियतले मेरा सामु । मैले त्यतिबेला जनता जहाँ छन् त्यहीं बस्नुपर्छ भनें । केही मान्छेले चाहेर मात्रै क्रान्ति हुने होइन, क्रान्तिका निम्ति जनता चाहिन्छ र जनतालाई बुझाउनुपर्छ । जनताबिना क्रान्ति हुँदैन भन्ने निष्कर्षसहित संसदमा जाने निर्णय गर्‍यौं । संसदमा गएर जनतालाई भन्नुपर्छ भनेर गयौं । जनताको सामान्य जीवनमा, राष्ट्रियताको पक्षमा, जनजीविका र जनतन्त्रको पक्षमा केही उपलब्धि भएन भनेर निर्वाचनमा सहभागी भई संसदको रोस्ट्रममा गएर चर्को स्वरले भन्नुपर्छ अनि मात्रै जनताले थाहा पाउनेछन् ।

हामीले चाहेजस्तो परिवर्तन भएको रहेनछ । हामीले त अर्को आन्दोलन पो गर्नुपर्ने रहेछ भन्ने जनतालाई बुझाउनु पर्छ भरे निर्वाचनमा पनि गयौं । त्यतिबेला समान विचार भएका कम्युनिस्टहरूबीच एकता हुनु पनि जरुरी छ, एउटा सानो समूहले क्रान्ति गर्छु भन्ने रहर गरेर मात्रै हुने पनि होइन । क्रान्ति खेलबाड होइन । केही युवाहरूको जोस मात्रै पनि क्रान्ति होइन भनेर लेनिनका पुस्तकहरू, मार्क्स, एंगेल्स, माओत्सेतुङका विचारहरूमा हामी खुब छलफल गर्थ्यौं । त्यतिबेला हामी संसदमा गयौं ।

केही मान्छेहरूले भन्ने गरेका थिए– यो पार्टी संसदमा पनि गयो, दक्षिणपन्थीहरूसँग एकता पनि गर्‍यो भनेर, सिद्धियो भन्ने गरेका थिए । हामीले त्यतिबेला एकताकेन्द्र बनाएका थियौं । हामी सानो समूहबाट होइन, पार्टी एकता गर्दै ठूलो बहसमा गएर जनतालाई बुझाएर मात्रै क्रान्तिको पक्षमा बोल्न र जनमत संकलन गरी क्रान्ति सम्पन गर्न सकिन्छ भनेर गएका हौं । तर, केही मान्छेहरूलाई पत्यार लागेको थिएन । केहीलाई यो क्रान्ति गर्न गएको होइन, संसदवादतिरै गएको हो, डुब्यो अब पार्टी भनेर केहीले कडा आलोचना पनि गरे ।

त्यतिबेला हामी ५ वर्ष संसदमा रहँदा नयाँ जनवादी क्रान्ति जिन्दावाद भनेर रोस्ट्रमबाट नारा लगाएका थियौं । पाँच वर्षको संसदीय संघर्षले जनयुद्धका निम्ति वातावरण बनायो । त्यसको पाँच वर्षपछि मात्रै हामीले जनयुद्ध सुरु गरेको हो । हामीले गरेको परिस्थितको विश्लेषण सही भएकाले नै जनयुद्ध टिक्यो । वस्तुगत र आत्मगत रूपमा नै सहि सावित भएकाले जनयुद्ध विस्तारित हुँदै गयो । जनयुद्धले शक्ति आर्जन गर्दै गएकाले हामी संसदवाद र दक्षिणपन्थी भासमा डुबेनौं । इतिहास साक्षी छ– संसदमै रहेर पनि हामीले क्रान्तिलाई अगाडि बढायौं ।

अहिले जनयुद्ध र जनआन्दोलन एक–आपसमा समायोजित भएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आयौं । संविधान निर्माण गरेर उत्पीडित जाति–क्षेत्र–समुदायलाई केही अधिकारहरू दिइएको छ । उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने ठाउँसम्म हजारौं सहिदको रगतको मूल्यमा र लाखौं जनताको योगदानमा अहिलेसम्म आइपुगेका हौं । २०औं शताब्दीको अन्त्य र २१औं शताब्दीको सुरुआतसँगै हामीले गरेको जनयुद्ध महान् क्रान्ति थियो ।

मान्छेले हामीलाई घोषणा गरेका थिए– दुई–चार महिनामा ध्वस्त हुन्छन् भनेर । केहीले ६ महिना त केहीले वर्ष दिनमा यिनीहरूको युद्ध सकिन्छ, सबै मारिन्छन् भनेका थिए । कतिपय हाम्रा पुराना साथीहरूले पनि होनहार युवाहरू थिए, मर्ने भए भनेर चिन्ता व्यक्त गरेका थिए । तर, हाम्रो आन्दोलन मरेन । हाम्रो आन्दोलन बरु जन्मियो, हुर्कियो, बढ्यो, विस्तारित भयो र नेपालमा राजनीतिलाई नै नयाँ दिशा दिने केन्द्र भागसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउने यो ठाउँसम्म आइपुग्यो ।

हाम्रा घुम्ती र मोडहरूमा रहेर रणनीति र कार्यनीतिमा फेरबदल गर्‍यौं । परिस्थितिको ठीक–ठीक मूल्यांकन र आँकलन गरी कठोर निर्णय लिने काम पनि गर्‍यौं । कहिले अगाडि बढ्ने कठोर निर्णय त कहिले पछाडि हटेर बचाउने कठोर निर्णय पनि लियौं । एकथरी मानिसहरू अगाडि बढेर मात्रै क्रान्ति पूरा हुन्छ भन्छन्, त्यो एकांकी विचार र सोच हो । दुनियाँमा अगाडि बढेर मात्रै कहीं पनि क्रान्ति पूरा भएको छैन । पार्टी र नेतृत्वले आवश्यकता पर्दा पछाडि हटेर शक्ति सञ्चय गर्ने र फेरि अगाडि बढ्ने तरिकाबाट नै क्रान्तिहरू सम्पन्न भएका छन् ।

अहिलेको परिवर्तनमा जनयुद्धको देन छ । म यो कुरा किन भन्दैछु भने आजको दिनमा नेपाल नयाँ क्रान्तिको युगमा छ । हामी नयाँ जनवाद जिन्दावाद होइन, समाजवाद जिन्दावादको नारा लगाएर नेपाली समाजका क्रान्तिका अधूरा कामहरू, सहिदका अधूरा सपनाहरू, बेपत्ता योद्धा र घाइते अपांगता भएका र नेपाली जनताका अधूरा सपनाहरू पूरा गर्ने अभियान, नयाँ समाजवादी अभियानको तरिकाद्वारा अगाडि बढाउन चाहन्छौं । जसका लागि ठूलो दायरा, धेरै जनता र धेरै कार्यकताको आवश्यकता परेको छ । अब धेरै ठूलो, मलिलो जमिन चाहिएको छ ।

त्यसका निम्ति नेपालका सबै कम्युनिस्टहरूलार्इ एक ठाउँमा ल्याउने र ती सबैको केन्द्र बनाउने भूमिका हामीले पूरा गर्नुपर्ने छ । त्यो नगरी समाजवाद जिन्दावाद भन्नुको कुनै अर्थ र औचित्य छैन । नेपालको परिवर्तन चाहने, आफूलाई वामपन्थी प्रगतिशील भन्नेहरू सबैको नेतृत्वमा तागत संकलन गरेर मात्रै सिंगो देश र करोडौं जनतालाई एकताबद्ध पारेर मात्रै समाजवाद आउँछ ।

इतिहासका सबै घुम्ती, मोड, पीडा र मर्महरू स्मरण गरी निरन्तर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउन चाहन्छौं । त्यसो गर्दा वैज्ञानिक नभई, वस्तुवादी नभई, परिस्थितिको ठीक–ठीक आँकलन नगरी क्रान्ति गर्छु भन्यौं भने त्योभन्दा दुर्भाग्य अरु केही हुँदैन । देशका आफूलाई कम्युनिस्ट भन्नेहरू र क्रान्तिका हिमायती भन्नेहरूलाई एउटा बलियो कम्युनिस्ट पार्टी बनाउने दिशामा अगाडि बढ्न आह्वान गर्न चाहन्छु । मलाई खुसी छ– यो प्रक्रिया अगाडि बढ्दैछ ।

हामी दुई वटा पार्टी एकताको छलफलमा छौं । हाम्रो कुरा हुँदा हामीले के भनेका थियौं भने र अर्को पार्टी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले के कुराको महत्त्व स्वीकार्नुभएको छ भने– ‘नेपालको सामाजिक, राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक भूमिका थियो र छ । र, जनयुद्ध दिवसकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेर हामीले भनेका छौं । हाम्रो कोशिस छ, सकेसम्म आज नै टुंगोमा पुगोस् र सम्पूर्ण प्रतिक्रियावादी र साम्राज्यवादीको चुनौती नेपालबाट हटाउन सकियोस् ।

म कमरेड विप्लवलाई दिवासपनाबाट ब्युँझिन आग्रह गर्छु । दिवासपना देखेर मात्र केही हुँदैन, सपना धरातलमा टेकिएको हुनुपर्छ, विज्ञानमा आधारित हुनुपर्छ । रहर र लहडबाट क्रान्ति हुँदैन । यदि त्यस्तो हुन्थ्यो भने दुनियाँ अर्कै ठाउँमा हुन्थ्यो । त्यसका म कमरेड विप्लवलगायतलाई एक ठाउँमा बसेर छलफल गर्न र एउटा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाएर राष्ट्रलाई एकताबद्ध पार्न अपिल गर्न चाहन्छु ।

झन्डै तीन करोड नेपालीलाई आबद्ध गरी समाजवादको यात्रमा अघि बढ्ने महान् अभियानमा संलग्न हुन सबैमा अपिल गर्न चाहन्छु । मेरा गुरु कमरेड किरणलाई भन्न चाहन्छु– द्वन्द्वात्मक भौतिकवाद के हो ? अदिभूतवाद के हो ? किताबमा द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे र पढे । जीवनमा द्वन्द्वात्मक भौतिकवाद लागू गर्ने के चिज हो भन्ने कुरा रियलाइज गरेर जनता जहाँ छन्, त्यहाँ जाने हो । मार्क्सवादको चुरो कुरो नै त्यही हो । माओत्सेतुङले त अझ मार्क्सलाई नै मुख्य कुरा हो भन्नुभयो । अब त उहाँहरू जनता छाडेर जान थाल्नुभएको छ । जनतादेखि भाग्ने अनि लुकेर, छिपेर आफ्नो उद्देश्य भन्दै नभनीकन घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवासपनाबाट ब्युँझिन म अपिल गर्न चाहन्छु । मेरो यो उहाँहरूलाई गम्भीर र हार्दिक अपिल हो ।

समृद्धि पनि समाजवाद पनि एक साथ अगाडि बढाउने असाधारण परिस्थिति यतिबेला नेपालमा छ । यसलाई भत्काउनका लागि संसारभरका साम्राज्यवादी, प्रतिक्रियावादीहरू लागेका छन् । तपाईंहरू साम्राज्यवादको पक्षमा कि जनताको पक्षमा भन्ने कुरा तपाईंको व्यवहारबाट टुंगिने कुरा हो । तपाईं यो महान् अभियानमा जुटेर समाजवादको अभियानमा लाग्नुभयो भने तपाईं जनताको हुनुभयो । यसलाई भत्काउन चाहने, कम्युनिस्टहरू एकताबद्ध नहोऊन्, वामपन्थीहरू एकताबद्ध नहोऊन् भन्ने चाहने प्रतिक्रियावादीलाई फाइदा पुग्ने–पुर्‍याउने गरी काम गर्नुहुन्छ भने तपाईंले जतिसुकै चर्का कुरा गरे पनि तपाईं जनताको मान्छे होइन । विज्ञानले त्यही भनेको छ । त्यसकारण म फेरि एक पटक बनेको वातावरण र पाएको अवसर नगुमाउन अनुरोध गर्छु ।

यस्तो अवसर र वातावरण सधैं आउँदैन । हामीलाई पनि २०४६ सालभन्दा अगाडि नै जनयुद्ध गरेर क्रान्ति गर्ने मन थियो, रहर थियो । तर, रहरले हुँदो रहेनछ । ०५२ साल फागुन १ नै पर्खिनुपर्‍यो । एकताकेन्द्र नै बनाएर जानुपर्थ्यो । अहिले पनि कुरा त्यही हो । नियम, विज्ञान त्यही नै हो । त्यसकारण म सबैसँग अवसर नगुमाउने अनुरोध गर्न चाहन्छु ।

यस महान् दिनमा फेरि हामीलाई नयाँ क्रान्तिको नेतृत्व गर्ने अवसर आएको छ । नेतृत्व भन्ने कुरा दिनुपर्छ भनेर पाइने होइन । आफ्नो सक्रियता, क्षमता, त्याग र तपस्याद्वारा लिनुपर्ने कुरा हो । हामीले गरेको जनयुद्ध, त्यसपछिको जनआन्दोलन र त्यसको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र हामीले नै प्रस्ताव गरेको वाम गठबन्धनसँगै पार्टी एकता– इतिहासको एउटा सुनौलो अवसर हो, यसलाई गुम्न नदिऊँ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर