NewsKoseli.Com

दोस्रो जनयुद्ध थालेका हुन् विप्लवले ? ‘०५२ कै शैली’ का देशव्यापी आक्रमण…

काठमाडौं, २ फागुन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले ०५२ मा जनयुद्ध सुरू गर्दाकै शैलीमा देशमा विभिन्न ठाउँमा आक्रमण गरेका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेकपाद्वारा मंगलबार राजधानीमा आयोजित २३औं जनयुद्ध दिवसको संयुक्त कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका अर्का वरिष्ठ नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उपस्थित भएनन् । त्यहाँ तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहभागी भए ।

उता, मंगलबार २३औं जनयुद्ध दिवसको पूर्वसन्ध्याकै मध्यरातमा छापामार शैलीमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले ठाउँ–ठाउँमा आक्रमण गरे । उनीहरूले रोल्पा, नुवाकोट, धनकुटा, रामेछाप, भोजपुरलगायतका ठाउँमा आक्रमण गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको निसानामा मुख्यतः एनसेलका टावर परेका छन् । रोल्पाको माडी गाउँपालिका– ६, कोर्चाबाङ मिनहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट गराइएको छ । कुकर बम विष्फोट हुँदा टावरमा क्षति पुगेको छ । यसबारे अनुसन्धान भइरहेको रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिएका छन् ।

त्यसैगरी, उनीहरूले नुवाकोटस्थित एनसेलको रिपिटर टावर पनि ध्वस्त पारेका छन् । विदुर नगरपालिका– ११, डाडागाउँस्थित एनसेलको टावरमा सोमबार राति साढे ११ बजे आगजनी गरी ध्वस्त पारिएको छ । सदरमुकाम विदुरबाट २२ किलोमिटर टाढा अवस्थित एनसेलको टावरमा आगजनी हुँदा टावर पूर्ण ध्वस्त भई १५ लाख बराबरको सामग्री क्षति भएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थ र जुटको बोरा प्रयोग गरी आगजनी गरेको उनले बताए । टावर ध्वस्त भएपछि डाडागाउँमा एनसेल सञ्चार सेवा विच्छेद भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री र युपीएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ ।

रामेछापमा पनि एनसेलको टावरमा आक्रमण भएको छ । रामेछाप नगरपालिकाको भालुखोपडाँडा र दोरम्बा गाउँपालिकाको थापा गाउँमा रहेको टावरमा विप्लवका कार्यकर्ताले क्षति पुर्‍याएका छन् । टावरमा क्षति भएपछि त्यस क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले धनकुटामा पनि एनसेलको टावरमा आक्रमण गरेका छन् । उनीहरुले भोजपुरका दुई स्थानमा पनि आगजनी गरेका छन् । भोजपुरको पूर्वी अरुण गाउँपालिका लेगुवाको फेदी बजारमा रहेको एक क्रसर उद्योगमा आगजानी गरेका छन् । आगलागीबाट क्रसर उद्योगमा रहेको भीम पौडेलको एक्साभेटर जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भोजपुरकै पौवादुम्म गाउँपालिकाको तिवारी भञ्ज्याङमा पनि आगजनी भएको छ । त्यहाँ पनि एक्साभेटरमै आगजानी गरिएको हो । कन्काई कन्स्ट्रक्सनको एक्साभेटरमा राति १:३० बजे आगजानी गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर