NewsKoseli.Com

‘नयाँ, सिर्जनशील र मौलिक’ शब्दबाट असाध्यै तर्संन्छु : मोहन वैद्य ‘किरण’

‘प्रचण्ड–बाबुरामहरु नायक थिए, अब खलनायक भए’

काठमाडौं, २ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आफू ‘नयाँ’, ‘सिर्जनशील’ र ‘मौलिक’ शब्दबाट असाध्यै तर्सने गरेको बताएका छन् ।

‘नयाँ, सिर्जनशील र मौलिक– यी तीनवटा शब्ददेखि म असाध्यै तर्सन्छु’, नेपाली कम्युनिस्ट आन्दोलनको माओवादी धारका वरिष्ठ नेता एवं वैचारिक–सैद्धान्तिक तथा साहित्यिक–सांस्कृतिक क्षेत्रमा समग्र वाम क्षेत्रकै गुरु ठानिँदै आएका महासचिव वैद्यले भने– ‘हो, हरेक क्षेत्रमा हमेसा नयाँ, मौलिक र सिर्जनशील हुनै पर्दछ तर हाम्रो आन्दोलनमा, खासगरी नेपाली माओवादी आन्दोलनको इतिहासमा यिनै तीनवटा शब्दको धुर्त्याइँपूर्वक दुरुपयोग गरियो, छल गरियो र जनताको त्याग, तपस्या र वलिदानबाट प्राप्त उपलब्धिहरुलाई ध्वस्त पारियो त्यसैले म यी तीनवटा शब्दबाट असाध्यै तर्सने गरेको छु ।’

‘०५२ मा जनयुद्ध सुरु गर्दाको अवस्था असाध्यै गम्भीर थियो र आजको स्थिति पनि करिव–करिव उस्तै छ’, १ फागुन, २०५२ मा जनयुद्ध सुरु गर्दाताकाको स्थिति र आजको अवस्था ठ्याक्कै मिल्दोजुल्दो भएको बताउँदै महासचिव वैद्यले भने– ‘त्यसैले विगतमा मनाइएका जनयुद्ध दिवसहरुभन्दा यस पटकको जनयुद्ध दिवसको भिन्न र विशेष महत्त्व छ किनकि यतिबेला नेपालको माओवादी आन्दोलन स्पष्ट रुपले दुई कित्ता वा धारामा विभाजित भइसकेको छ ।’

यतिबेला इतिहासले आफूहरुका सामु असाध्यै ठूलो चुनौती खडा गरिदिएको भन्दै नेता वैद्यले भने– ‘अब प्रचण्ड–बाबुरामजीहरुको विरोधले मात्र पुग्दैन, गरेरै देखाउन सक्नुपर्छ, इतिहासले सुम्पेको जिम्मेवारी र राष्ट्र तथा जनताको अपेक्षाबारे हामीले गम्भीरतापूर्वक सोच्न सक्नुपर्छ ।’

सामूहिक नेतृत्वको मर्मबारे गम्भीरतापूर्वक बुझ्ने, आत्मसात् गर्ने र लागू गर्ने सवालमा विगतमा आफूहरुबाट गम्भीर त्रुटि हुन गएको उल्लेख गर्दै वैद्यले भने– ‘महान् मान्छेले गल्ती नै गर्दैन, कहाँ बिगार्छ र भन्नेतिर सोचियो, एकै जनामाथि सबै कुराको भर परियो तर अन्तिममा आएर सबै चिज ध्वस्त भयो ।’

‘इतिहासमा हस्ती र परिघटनाहरु दुई पटक जन्मन्छन्, एक पटक महान् वीरका रुपमा र अर्को पटक कायरका रुपमा अर्थात्, एक पटक नायकका रुपमा र अर्को पटक खलनायकका रुपमा या एक पटक महान् परिघटनाका रुपमा र अर्को पटक भद्दा प्रहसनका रुपमा’, हेगेललाई उद्धृत गरी कार्ल मार्क्सले भनेको उक्ति स्मरण गर्दै वैद्यले भने– ‘हो, हामीकहाँ ठ्याक्कै त्यस्तै भयो भनेर भन्नुस् ।’

०२८ को ऐतिहासिक झापा विद्रोह र ०५२ देखि ६२ सम्मको जनयुद्ध नेपाली इतिहासका महान् परिघटना भएको र अन्त्यमा विचलन, विसर्जन र आत्मसमर्पणका रुपमा ती दुवै परिघटना भद्दा प्रहसन वा कायरतामा बदलिएको भन्दै वैद्यले दुःख व्यक्त गरे ।

‘क्रान्तिको नायक पनि उही र प्रतिक्रान्तिको खलनायक पनि उही हुनु इतिहासको एउटा दुर्लभ घटनाक्रम हो’, वैद्यले भने– ‘तर, संसारमै भेट्न मुश्किल पर्ने कुरा हामीकहाँ चाहिँ सजिलै भेटियो ।’

‘दसवर्षे जनयुद्धमा जनता वा हामी पराजित भएका होइनौं र जनताले जितिसकेको पनि होइन’, वैद्यले भने– ‘लडाकु दल, सुरक्षा दलबाट सुरु गरेर विशाल जनमुक्ति सेना बनाइयो, स–साना जनसरकार गठन गर्दै देशव्यापी रुपमा ठाउँठाउँमा ठूलठूला आधारइलाका बनाइयो, त्यतिबेला प्रचण्डजीहरु र बाबुरामजीहरु नायक नै हुनुभो, उहाँहरु साँच्चिकै नायक नै हुनुहुन्थ्यो ।’

‘तर लोकतान्त्रिक गणतन्त्र भन्ने बुर्जुवा र संशोधनवादी कार्यदिशा अँगालेर उहाँहरुले सबै ध्वस्त पार्नुभयो, पछिल्लो चरणमा आएर उहाँहरु खलनायकमा बदलिनुभयो ।’

२३औं जनयुद्ध दिवसको अवसरमा मंगलबार राजधानीमा नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वैद्यले छरिएर रहेका क्रान्तिकारीहरुबीचको एकतामा जोड दिए ।

क्रान्तिकारीहरुबीच एकता भइछाड्ने र नयाँ ढंगले बलप्रयोगमा आधारित सशस्त्र क्रान्ति अगाडि बढाइछाड्ने उदघोष महासचिव वैद्यले गरे । सिद्धान्त, विचार, रणनीति, कार्यनीति, नेतृत्व र संगठनजस्ता पक्षहरुमा लामो, गम्भीर र वृहत् छलफल गरेर बिस्तारै पार्टी एकता अघि बढ्ने तर तत्कालै संयुक्त रुपमा राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासँग सम्बन्धित व्यापक जनसंघर्ष अघि बढाइने उनले बताए ।

कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ तथा एमालेसँग एकता अस्वीकार गरेका माओवादी केन्द्रका नेताहरु विश्वभक्त दुलाल ‘आहुति’, गोपाल खम्बु किराँती र लोकेन्द्र विष्ट मगरले पनि सम्बोधन गरे । उनीहरु सबैले वर्तमान संसदीय व्यवस्थाका विरुद्ध एकताबद्ध नयाँ माओवादी पार्टीको पुनर्गठनमा जोड दिए ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघोषण नेकपाकी नेतृ उमा भुजेलले गरिन् । कार्यक्रमको बीच–बीचमा क्रान्तिकारी गीत–संगीत र नृत्य प्रस्तुत गरिए ।

हेर्नोस् यसै कार्यक्रममा प्रस्तुत यो क्रान्तिकारी नृत्य–

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर