NewsKoseli.Com

गुटबन्दीको सिकार भएँ : अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्ष एवं प्रदेश– ३ की संयोजक अष्टलक्ष्मी शाक्य प्रदेशसभामा निर्वाचित भएसँगै धेरैले उनी नै यस प्रदेशको मुख्यमन्त्री बन्ने आँकलन गरेका थिए । शाक्य आफैं समेत ढुक्क थिइन् । तर, एमालेले आन्तरिक निर्वाचनद्वारा संसदीय दलको नेता चयन गर्ने निर्णय गर्‍यो । निर्वाचनमा भने उपाध्यक्ष शाक्य प्रदेशसभाका सांसद डोरमणि पौडेलसँग पराजित भइन् । उनको मुख्यमन्त्री बन्ने बाटो बन्द भयो । पराजित भएसँगै शाक्यले आफूलाई पार्टी अध्यक्षले जालझेल गरेर हराएको आरोप लगाउँदै आएकी छन् ।

प्रस्तुत छ, प्रदेश– ३ को मुख्यमन्त्री चयन प्रक्रिया, शाक्य पराजित हुनुका कारण, अध्यक्षमाथि उनले लगाएका आरोपलगायतमा केन्द्रित रहेर नयाँ पत्रिका दैनिकका शुरोजंग पाण्डेले उपाध्यक्ष शाक्यसँग गरेको कुराकानीको एक अंश ।

प्रदेशसभा संसदीय दलमा पराजित भएलगत्तै पार्टी अध्यक्षले धोका दिनुभयो, चरम गुटबन्दी गर्नुभयो भन्नेजस्ता आरोप तपाईंले लगाउनुभयो, यसका आधार के हुन् ?

दलको नेता चयन गर्ने अघिल्लो दिन अध्यक्षले मलाई छलफलका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाउनुभयो । त्यहाँ अत्यन्त सहज वातावरणमा कुराकानी भयो । उहाँले स्थिति के छ भनेर सोध्नुभयो । मैले स्थिति अत्यन्त राम्रो छ, ठीक छ, म जित्छु भनेँ ।

उहाँले हार्नेगरी उठ्नु हुन्न भन्नुभयो । म हार्दैहार्दिनँ, तपाईंले साथ दिनुपर्छ, सबै साथीले तपाईं उपाध्यक्ष, प्रदेश प्रमुख र धेरै सिनियर भएकाले, समावेशिताका हिसाबले पनि तपाईंको उम्मेदवारी उपयुक्त हुन्छ भन्नुभएको छ भन्ने कुरा जानकारी गराएँ । यो कुरा सुनेर उहाँले त्यसो भए उठ्नुस् भन्ने सुझाब दिनुभयो । अध्यक्षले नै यति भनिसकेपछि उहाँको सहयोग हुनेमा आश्वस्त भएँ ।

त्यसपछि सभामुख कसलाई बनाउने नाम दिनु भनेर अनुरोध गरें । उहाँले सल्लाह गरेको छैन बेलुकी फोन गर्छु भन्नुभयो । उहाँको यो वचनपछि म आश्वस्त थिएँ । तर, राति अबेरसम्म कुर्दा पनि उहाँले फोन गर्नुभएन । राति १२ बजेसम्म कुर्ने कुरा भएन । भोलिपल्ट आफ्नै ढंगले तयारीमा लागेँ । तर, मैले त्यही साँझ नै सबै माननीयलाई विभिन्न होटेलमा राख्न थालिएको सूचना थाहा पाएँ । यो सूचनाले म सशंकित थिएँ ।

सांसदहरूलाई किन थुन्नुपर्‍यो ? स्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा मैले नै जित्ने कुरामा कुनै द्विविधा थिएन । किनभने, कुराकानी गर्दा सबै साथीहरूको सहानुभूति र समर्थन प्राप्त गरेकी थिएँ । तर, सबै माननीयलाई होटेलमा थुनेर भोलिपल्ट एकै पटक मतदानस्थलमा लैजाने तयारी भएको सूचनापछि मलाई के गर्न खोजेको होलाजस्तो लागेको थियो ।

घरबाट बोलाएर होटेलमा राख्ने, फलानोलाई मत नहाल्ने भन्ने उर्दी जारी भएको कुरा आयो । छक्क परेँ । किन यस्तो आतंक मच्चाएको होला जस्तो लाग्यो । सोचेकी थिएँ– अध्यक्षले नै उठ्नुस् भनेपछि त मलाई नै सहमति दिएको हो, अर्को व्यक्ति नउठाउने होला । तर, बेलुकी अध्यक्षकै निवास बालकोटमा बसेर निर्णय भएको थाहा पाएँ ।

मैले स्थायी समितिमा भनें– बालकोटमा बैठक बस्नुभएछ, त्यो बैठकमा मलाई पनि बोलाएको भए हुन्थ्यो नि त अध्यक्षज्यू ! त्यसैले, परिणामलगत्तै मलाई बालकोटको गुटबन्दीले सिध्यायो भनेकै हो । मैले के गल्ती गरें ? सबै कुरा तथ्य र प्रमाणसहित बोलेकी छु ।

‘उठ्नुस्, मेरो समर्थन छ’ भन्दाभन्दै तपाईंलाई हराउन अध्यक्षले किन त्यस्ता क्रियाकलाप गर्नुभएको जस्तो लाग्छ ?

मैले त अध्यक्षबाट छलछामको राजनीति होला भन्ने अलिकति पनि सोचेकी थिइनँ । किनभने मेरो स्वभाव, शैली, काम गराइ सबै उहाँलाई थाहा थियो । प्रदेश प्रमुख भएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत सिट जिताउने कामको नेतृत्व गरेकी थिएँ । त्यसैले अरू कारण होलाजस्तो लाग्दैन । मेरो त्याग छैन भने भन्नुपर्ने हो, दुःख गरेको छैन भने पनि थाहा हुनैपर्ने हो । बेइमान भए पनि भन्नुपर्ने हो । त्यसैले कुनै कारण थिएन ।

मैले भनें– मलाई किन हराइयो अध्यक्षज्यू ? जवाफ चाहियो । दुनियाँलाई के जवाफ दिऊँ ? आफैंलाई लाज लागिरहेको छ भनेर मैले स्थायी कमिटीको बैठकमा भनेकी हुँ । तर, उहाँले राम्रोसँग जवाफ दिनुभएन । ‘लोकतन्त्रमा चुनावमा जान्छु भनेकाले मैले तपाईंलाई उठ्नुस् भनें तर पराजित भइसकेपछि ममाथि खनिन कसरी मिल्छ ?’ भन्नुभयो । मैले लोकतान्त्रिक प्रतिस्पर्धा मानेर, चुनावमा गएँ, हारजित भयो, परिणाम पनि स्वीकार गरें । तर, लोकतन्त्रको नाममा सांसदलाई धम्क्याउने, थुन्ने गर्न पाइन्छ ? के मैले सबै प्रमाण दिऊँ ? म सबै प्रमाण पेस गर्न सक्छु भनेपछि अध्यक्ष बोल्दै बोल्नुभएन ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर