NewsKoseli.Com

देउवाविरुद्ध मुख खोले गगनले : सभापति र दल नेता एकै व्यक्ति हुनु हुँदैन…

काठमाडौं, १९ फागुन ।

कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने भन्नेबारे लफडा चलिरहेका बेला युवानेता गगन थापाले फेरि देउवाविरूद्ध मुख खोलेका छन् ।

अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताउँदै संसदीय दलको नेतामा चुनाव लड्ने तयारी गरिरहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति युवानेता थापाले कूटनीतिक भाषामा विरोध जनाएका हुन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै दुईतिहाई बहुमत पुर्‍याउन लागेको कम्युनिस्ट सरकारसँग संसदमा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।

अहिले विपक्षी दलको भूमिका गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध गर्नु मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्नु समेत भएको थापाको भनाइ छ ।

सोही अवसरमा कांग्रेससम्बद्ध नेपाल तरुण दलको भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले प्रवासी नेपालीका समस्याबारे नेता थापालाई अवगत गराए । पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराए ।

भारतीय सरकारबाटै भारतमा रहेका नेपालीहरू विभिन्न खालका विभेदमा परेको भन्दै सरकारीस्तरबाट त्यस्ता विभेद् हटाउन पहल गरिनुपर्ने पौडेलले बताए ।

भारतमा रहेका नेपाली सीमाबाट आवतजावत गर्दा असुरक्षित हुने, भारतबाट नेपालमा सञ्चार–सम्बन्ध गर्दा महँगो शुल्क तिर्नुपर्ने, नेपाली महिला यौनहिंसामा पर्ने, श्रमशोषण हुने, परिचयपत्रको मान्यतामा विभेद्, भारतमा के–कति नेपाली छन्– तथ्यांक नभएको, मृत्युपछि शव नेपालमा पठाउन कठिन हुनेजस्ता समस्या नेपालीले भारतमा भोग्दै आएका छन् ।

सो अवसरमा नेता थापाले भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर