NewsKoseli.Com

विप्लवलाई प्रधानमन्त्री ओलीको आह्वान : ‘वार्ताको टेबलमा आऊ !’

काठमाडौं, २० फागुन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्ताको टेबलमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा विश्व कीर्तिमान बनाउने लक्ष्यसहित आयोजित बुद्धवचन ‘धम्मपद’ वाचन कार्यक्रममा बोल्दै आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गरेका हुन् ।

प्रहरीले केही दिनअघि मात्र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

हिंसाको बाटो रोज्नेलाई बम बनाउने र अशान्ति तथा आतंक फैलाउने काम छाडी समृद्ध नेपाल बनाउने काममा योगदान पुर्‍याउन प्रधानमन्त्री ओलीले आह्वान गरे । विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै सिरियामा भइरहेको हत्या–हिंसाको समेत विरोध गरे ।

‘दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौं, शान्ति र मित्रताले अगाडि बढौं,’ प्रधानमन्त्री ओलीले भने– ‘शाक्यमुनि बुद्धप्रति आदर–सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्धभूमिबाट शान्तिको कामना गर्दछु ।’

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु नपर्ने जिकिर ओलीले गरे । उनले भने– ‘बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौं ।’

टुँडिखेलमा बसेर प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा–व्यवसायका नेपालीले सामूहिक रूपमा ‘धम्मपद’ वाचन गरे ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर