NewsKoseli.Com

राजपाले ओलीसमक्ष तेर्स्यायो माओवादी चिढ्याउने ३ सर्त, के–के हुन् ?

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले केपी ओली नेतृत्वको सरकारमा जान तीन शर्त राखेको छ । सरकारमा जान तीन वटा ठोस प्रस्ताव राखिएको जानकारी राजपाका महासचिव मनिष सुमनले दिएका छन् ।

‘प्रधानमन्त्रीले सार्वजनिक प्रतिबद्धता व्यक्त गरिदिए पुग्छ, पहिला जस्तो ४५ औं पटक वार्ता र ३० औं बुँदे सम्झौता गरिरहनु पर्दैन’– सुमनले भने ।

प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धता आएमा तत्काल केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्ने उनले बताए । प्रदेशसभा सदस्य रहेका सुमनले यथार्थमा राजपालाई सरकारमा समावेश हुने जानदेश नभएको प्रष्ट्याए ।

उनले भने– ‘हामीलाई सरकारमा समावेश हुने जनादेश छैन तर देश बनाउन सहकार्य गरौं भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएकाले हामी तयार भएका हौं ।’

के हुन् राजपाका शर्त ?

राजपाले मुद्दा फिर्ता गर्नुपर्ने, मधेस आन्दोलनमा सहादत प्राप्त गरेका रघु साफीलगायतलाई सहिद घोषणा गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने ठोस प्रस्ताव राखेको छ ।

महासचिव सुमनका अनुसार ठोस प्रस्तावमा सरकारको दृष्टिकोण सार्वजनिक रुपमा आउनुपर्ने माग गरिएको छ । तीन प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता आएमा सरकारमा जाने उनले बताए । सरकारमा जान राजपाले सम्झौता वा वार्ता गर्न नचाहेको महासचिव सुमनले बताए ।

ओलीले बोलाए ठाकुरलाई

प्रधानमन्त्रीद्वारा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बोलाएर सरकारमा आउन आग्रह गरेको सुमनले बताए । ‘सरकारमा आउन प्रधानमन्त्री ओलीले हाम्रा संयोजकलाई बोलाएर आग्रह गर्नुभयो’– उनले भने ।

सरकार जाने विषयमा राजपा संयोजक ठाकुर र प्रधानमन्त्री ओलीबीच आइतबार सकारात्मक छलफल भएको थियो । संविधान संशोधनमा राजी भए सरकारमा जान सकिने छलफलमा ठाकुरले बताएका थिए ।

प्रधानमन्त्री ओली पनि संविधान संशोधनमा सकारात्मक देखिएका छन् । त्यसपछि सरकारमा जाने सन्दर्भमा राजपा नेता र प्रधानमन्त्रीबीच पटक–पटक औपचारिक र अनौपचारिक कुराकानी भइरहेको छ ।

संविधान संशोधनमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक भएपछि नै संघीय समाजवादी फोरम सरकारमा जाने भएको हो । फोरम सरकारमा जाने भएपछि राजपा पनि सरकारमा जान आतुर रहेको तर ‘सेफ ल्याण्डिङ’ का लागि प्रस्ताव राखेको एकथरीको भनाइ छ ।

फोरमका कारण राजपालाई तनाव

संघीय समाजवादी फोरम सरकार जाने भएपछि राजपामा समेत सरकारमा जान छटपटाएको छ । फोरमलाई मात्रै वाम गठबन्धनले आमन्त्रण गरेपछि राजपामा तनाव बढेको हो ।

राजपा सरकारमा जाने सम्भावना बढेपछि फोरमले समेत हतार–हतार सरकारमा जाने औपचारिक निर्णय गरेको छ । राजपाको प्रतिनिधिसभामा १७ सिट छ । राजपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११ र समानुपातितर्फ ६ सिट जितेको छ ।

प्रदेश– २ मा राजपाले २५ सिट जितेको छ । प्रदेश– २ मा फोरम र राजपा गठबन्धनको सरकार छ । फोरम–राजपा सरकारलाई वामगठबन्धनको समर्थन छ । सरकार–फोरम–राजपाबीचको द्वन्द्व र सहकार्यबारेको विश्लेषण बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर