NewsKoseli.Com

‘विश्वासको मत’ लिँदै प्रधानमन्त्री ओली, ३ चौथाई सांसदको समर्थन

प्रधानमन्त्री केपी ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन् । फागुन ३ मा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन् ।

वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइभन्दा बढी (३ चौथाइ) मत बहुमत पुग्ने देखिएको छ । प्रतिपक्षमा १ चौथाइभन्दा कम मत मात्र रहने अवस्था सिर्जना भएको छ ।

शनिबार बसेको संसद् बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन् । आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी ठाकुरले संसदमा गराए ।

राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ । संसद्को शनिबार बसेको बैठकले सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सर्वसम्मत निर्वाचित गरेको छ । प्रमुख विपक्षी कांग्रेससमेतको समर्थनमा महरा निर्विरोध निर्वाचित भएका हुन् ।

सभामुख पदका लागि महराको एक मात्र उम्मेदवारी परेको भन्दै ज्येष्ठ सदस्य ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे । वाम गठबन्धनका तर्फबाट महरालाई सभामुखका रूपमा अघि सारिएको थियो ।

त्यसअघि संसदमा महरालाई सभामुख बनाउन पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले राखेको प्रस्तावलाई माओवादी केन्द्रका देव गुरुङ र कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन जनाएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर