NewsKoseli.Com

संसदको बैठक : प्रचण्डको ‘गिनिज रेकर्ड’ र ओली–गगनबीचको दोहोरी…

प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइभन्दा बढी मत प्राप्त भएको छ । प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् ।

वि.सं. ०१५ मा बी.पी. नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षपछि पहिलो पटक मुलुकले बलियो सरकार पाएको छ । ०६२-६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए । तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका भने ओलीले मात्र पाएका छन् ।

प्रधानमन्त्रीमा ओलीलाई समर्थन जनाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८ वटा प्रधानमन्त्रीको समर्थक आफू बसेको स्मरण गराए । ‘१० वर्षमा १० प्रधानमन्त्री भयौं । ८ वटा प्रधानमन्त्री बनाउने प्रस्तावक मै भएछु,’ उनले भने– ‘भविष्यमा कति प्रधानमन्त्री बनाएपछि मेरो नाम गिनिज बुकमा लेखिने रहेछ ? ’ दाहालले यस्तो धारणा राख्दा संसदमा हाँसो छाएको थियो ।

कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए । सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे ।

स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको आरोप थापाले लगाए । वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे– ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन पैसा गनेजस्तो ।’

जवाफमा ओलीले कटाक्ष गरे । कांग्रेसका युवानेता गगनको उमेरजति त आफूले लोकतन्त्रका लागि मात्रै लडेको भन्दै लोकतन्त्र मासिने कुनै पनि आशंका नगर्न ओलीले आग्रह गरे । संविधान र लोकतन्त्रका कार्यान्वयन नै आफ्नो चुनावी घोषणापत्र रहेको उनले बताएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

बैठकमा कसले के भने ?

– ‘म कुनै पनि ‘एस्क्युज’ खोज्दिनँ : ओली

– भाषण होइन, एक्सनमा जानुहोस् : दाहाल

– गुण र दोषका आधारमा समर्थन–विरोध : गच्छदार

– ओलीको बोलीलाई विश्वास गरेका छौं : राजपा

– प्रदेशमा हामीलाई काँध दिनुभयो, यहाँ हामी दिन्छौं : फोरम

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर