NewsKoseli.Com

राष्ट्रपति निर्वाचन हुँदै, भण्डारीको जित निश्चित, परिणाम पनि तुरून्तै…

आज (मंगलबार) नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । तेस्रो राष्ट्रपतिका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी राईबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने निर्वाचन दिउँसो ३ बजे सकिनेछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा अर्को मतदान केन्द्रमा प्रदेशसभाका सांसदहरूले मतदान गर्नेछन् ।

भण्डारीको जित निश्चित, १३ हजारभन्दा बढी मत

संघीय संसद्–प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३० तथा प्रदेशसभाका ५ सय ५० सांसद राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ ।

कूल मतदाता संख्या ८ सय ८० भएकाले जम्मा मतभार ५२ हजार ५ सय छ । कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीका साथै पछि शपथ लिएका राष्ट्रियसभाका तीन सांसदले भने मतदानमा भाग लिन पाउने छैनन् ।

एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका ६ सय ६६ सांसदको समर्थन वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा रहेकाले उनको पक्षमा मत ३९ हजार ७ सय ९ देखिएको छ । संविधान अनुसार विजयी हुन कम्तिमा ५० प्रतिशत कटाउनुपर्ने भएकाले २६ हजार ३ सय ४४ मत आवश्यक पर्छ । त्यसैले, आवश्यकभन्दा १० हजार २० मत बढी रहेकाले उनको विजय निश्चितजस्तै देखिन्छ ।

उता, कांग्रेस उम्मेदवार लक्ष्मी राईका पक्षमा कांग्रेसका १ सय ८९ सांसदको समर्थन रहेकाले उनको पक्षमा ११ हजार ४ सय २८ मत छ । बाँकी मत भने १० ओटा साना दलको रहेको छ । उनीहरूको मत १ हजार ६ सय ४९ छ । यो मत जता खसे पनि जित–हारका लागि खास अर्थ नराख्ने खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर