NewsKoseli.Com

नेपालमा ‘सोले’ का ‘बाउ’ हरु पो रहेछन् : गृहमन्त्री बादल

काठमाडौं, १८ चैत ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालमा पुरानो हिन्दी चलचित्र ‘सोले’ का पात्र ‘सोले’ भन्दा ‘महासोले’ अर्थात् ‘सोलेका बाउ हरु’ रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने– ‘राजनीतिक स्थिरता, अपराध नियन्त्रण र चुस्त विपत व्यवस्थापन नै गृह प्रशासनका मूलभूत प्राथमिकता हुन् ।’

झन्डै २ सय वर्ष पुरानो आधुनिक नेपालका इतिहासको वितेको कालखण्ड पारिवारिक, निरंकुश र जनविरोधी शासनमा बितेको उल्लेख गर्दै गृहमन्त्री थापाले भने– ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासनः विकास र समृद्धिका लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने मूल लक्ष्य हासिल गर्नु नै ८२ बुँदे ‘एक्सन–प्लान’ को मुख्य सार हो ।’

धेरैजसो असल कर्मचारी र अधिकारीहरु भए तापनि केही खराब कर्मचारीका कारण कुख्यात अपराधी चाल्र्स शोभराजले ‘नेपालको अध्यागमनबाट हात्ती छिराइदिन्छु’ भनेर उहिल्यै दिएको अभिव्यक्ति, वीरगञ्जको कारागारमा ‘नेवारी खाजाको पारखी’ एक कैदीले दिनहुँ प्रहरीकै सहयोगमा भोगिरहेको मोजमस्ती, त्यतैतिरको एक कैदी दिनदिनैजसो ‘मर्सिडिज कार’ मा घुमिरहेको अवस्था आदि विडम्बनापूर्ण भएको बताए ।

जम्मा २ कप चिया मात्र किन्न पुग्ने दैनिक ४५ रुपैयाँ ‘सिदा’ का भरमा कैदी–बन्दीहरुलाई नराखिने र उनीहरुलाई मानवोचित व्यवहारको व्यवस्था गरिने उनले बताए । कैदी–बन्दीहरुलाई भत्ता मात्र खुवाएर निष्कृय राख्नुभन्दा कामसित, श्रमसित र उद्योगसित जोडेर ‘जेल उनुत्पादक यातनागृह नभई उत्पादनमूलक सुधारगृह हो’ भन्ने मान्यता लागू गर्नु यस कार्ययोजनाको एउटा महत्त्वपूर्ण पक्ष भएको गृहमन्त्री थापाले चर्चा गरे ।

तिनै तहका सरकारको कार्यान्वयन सुरु भइसकेको वर्तमान सन्दर्भमा गृहप्रशासनलाई संघीय गणतन्त्रात्मक प्रणाली अनुकूल पुनर्संरचना गरिने तर एसटीएफ (स्पेसल टास्क फोर्स) को अवधारणा विकसित गरेर खास–खास ‘केस’ हरुलाई भने केन्द्रीय स्तरबाटै ‘ह्याण्डल’ गरिने उनले बताए ।

राजधानीको चर्को ट्राफिक जाम, खुला सीमानका कारण व्याप्त विकृति र चुनौती, भ्रष्टाचार, कालोबजारी, तस्करी तथा सुन–चाँदी र वस्तु–सामग्रीको मात्र नभई मान्छेकै किनबेच गरेर चलिरहेको मानवतस्करीजस्ता समस्यालाई दीर्घकालीन र वैज्ञानिक ढंगले समाधान गर्नु यस कार्ययोजनाको मूलभूत उद्देश्य भएको गृहमन्त्री बादलले बताए ।

राष्ट्रिय एकताको रक्षा गर्नु, संघीय गणतन्त्रात्मक व्यवस्थाको सुरक्षा गर्नु, जनताको जिउधन र उद्योग–व्यापार तथा सम्पत्तिको संरक्षण गर्नु र सीमा सुरक्षा गर्नु गृहप्रशासनको मुख्य जिम्मेवारी भएको चर्चा गर्दै सडक, सदन र सरकारको ‘मोर्चा’ बाट राष्ट्रिय समृद्धिका लागि नयाँ ‘आन्दोलन’ सृष्टि गरिने उनले बताए ।

सिन्डिकेटका नाममा व्यापक भ्रष्टाचार र देश तथा जनताविरुद्ध अपराध भइरहेको चर्चा गर्दै ‘हेरौं न यसको फूर्ति’ भनेर चुनौती दिइरहेका सिन्डिकेटवालाहरुलाई ‘जनता, नागरिक समाज र सरकार मिलेर’ परास्त गर्नु नै जनताको जनादेश भएको गृहमन्त्रीले बताए ।

कार्ययोजनाको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्–

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर