NewsKoseli.Com

तीनदिने भारत भ्रमणमा प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

प्रधानमन्त्रीसँगै को–को गए भारत भ्रमणमा ? (नामावलीसहित)

काठमाडौं, २३ चैत ।

तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली राजकीय भारत भ्रमणमा गएका हुन् । ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको भ्रमणदलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत संलग्न छन् ।

प्रधानमन्त्रीको भ्रमणदलमा संघीय संसदका सदस्यहरु शरतसिंह भण्डारी, दिनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव समेत सहभागी छन् ।

प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो पनि संलग्न छन् ।

भ्रमणदलमा पहिलो पटक कला क्षेत्रबाट सिनेनायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डीसी समेत सहभागी छन् । निजी खर्चमा उद्योगी–व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि पनि प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली गएका छन् ।

भ्रमणदलमा राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालका सञ्चारकर्मीको सहभागिता छ । नेपाली दूतावास नयाँदिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिस्टर कृष्णहरि पुस्करलगायत ९ जना सहभागी हुनेछन् । प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालगायत उच्च सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

प्रधानमन्त्री ओलीले भारतमा राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बेंकैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री शुष्मा स्वराजलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओलीको यस पटकको भारत भ्रमणमा कुनै नयाँ सन्धि–सम्झौता नहुने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री ओली २५ चैतमा फर्कनेछन् ।

यो पनि पढ्नुहोस्–
यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर