NewsKoseli.Com

प्रचण्डले दोहोर्‍याए : ५०–५० कै अनुपातमा एकता, सूर्य चिह्न अमान्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादीबीच ५०–५० कै अनुपातमा पार्टी एकता हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्राविधिक रूपमा गरिने एकता ठूलो विषय नभएको भन्दै विचार, राजनीति र दर्शनको एकता हुनुपर्नेमा प्रचण्डको जोड छ । प्रेस सेन्टरका नेताहरुसँगको भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले को ठूलो, को सानो दल भन्ने विषय इतिहासका कालखण्डमा फरक–फरक भएको भन्दै ५०–५० कै अनुपातमा अहिले एकता हुनुपर्नेमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकरात्मक रहेको समेत उनले बताए ।

‘२०६४ मा हामी पहिलो पार्टी भयौं, २०७० मा उहाँहरू हुनुभयो, यस्तो शृंखला चलिरहन्छ त्यसैले एकता ५०–५० कै अनुपातमा हुनुपर्छ ’– उनले भने ।

सूर्य चिह्न अमान्य

माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने स्पष्ट पारेको छ । अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका छन् ।

सूर्यभित्र हँसिया–हथौडा चिह्न भने मान्य हुने प्रचण्डले बताएका छन् । ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेशजस्तो हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागीले भने– ‘विगतमा एमालेले पनि सूर्यभित्र हँसिया–हथौडा राखेकै हो, झन्डाहरूमा सूर्यभित्र हँसिया–हथौडा राखेर प्रयोग पनि गरेकै हुन् त्यसैले उहाँहरूले सूर्यभित्र हँसिया–हथौडा राख्ने विषयमा असहमति जनाउनुहुन्छ जस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ ।’

जनयुद्धको विषयमा भने कुरा मिलेको प्रचण्डले बताए । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर