NewsKoseli.Com

सिस्नोले हान्दै नयाँ वर्षको ‘सत्कार’ !

नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ । सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ ।

नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा छ । पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा वैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ ।

गत वैशाख १ गते मंगलसेनकी कविता विक एकछिन पनि ढुक्कले बस्न पाइनन् । देवरहरुले लगाइदिएको सिस्नोका कारण उनको शरीर पूरै निदाएजस्तै भयो । बिहान सबेरै उठ्नेबित्तिकै धारामा नुहाउन जाँदादेखि देवरले लगाइदिएको सिस्नोको पोलाइ सहन थालेकी कविताले ढोका थुनेर खाना खान खोज्दा पनि राम्रोसँग खान पाइनन् । खाना खान लाग्दा एकजना देवर झ्यालबाट छिरेर सिस्नो लगाउन खोजेपछि खाना समेत राम्ररी खान नपाएको उनले सुनाइन् ।

‘देवरहरु धेरै छन्– म एक्लै परें, शरीर पूरै निदाउने गरी सिस्नो लगाए,’ कविताले भनिन्– ‘बिसु र तिहार आउँदा त दुई–तीन दिन अघिदेखि नै चिन्ता लाग्न थाल्छ ।’ कविता मात्र होइन, उनको गाउँका अधिकांश महिला नयाँ वर्षको पहिलो दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त हुन्छन् । जसका बढी देवर, नन्द हुन्छन् ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्छ ।

सिस्नो लगाउने परम्परा पहिलेदेखिकै हो। यस अवसरमा देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुले एक–आपसमा पानीमा भिजाएको सिस्नोले हान्ने गरिन्छ । यसरी सिस्नु लगाउँदा शरीरमा भएको घाउखटिरालगायत छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको मेल्लेख– ७ की जानकी रावल बताउँछिन् । जानकीकोे बुझाइमा बिसु र तिहारको दिन सिस्नो लगाउनु छालाको रोगका लागि अनिवार्य हुन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारका दिन आफैंले आफैंलाई भए पनि सिस्नो लगाउनुपर्ने मान्यता रहेको जानकीले सुनाइन् ।

बिसु तिहारमा महिलाले पुतला नाच खेल्ने तथा पुरुषले बिसु बाघ बनाएर दौडाउने चलन पनि छ । नयाँ वर्ष सुरु हुनु केही दिनपहिले नै अछाम, बाजुरालगायतका जिल्लाका गाउँगाउँमा महिलाले पुतला खेल सुरु गर्छन् । पुतला बिसु तिहारमा रातभर खेलेर विसर्जन गर्ने परम्परा छ । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरुप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास छ ।

नयाँ वर्ष तथा बिसु तिहार मनाउन नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमवासी एक हप्ताअघिदेखि नै घर फर्किने क्रम सुरु भइसकेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर