NewsKoseli.Com

शिक्षाका नाममा ब्रह्मलुट : वार्षिक शुल्कबाट मात्रै ८ अर्ब असुली

निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत मात्रै अभिभावकसँग वर्सेनि ८ अर्ब रुपैयाँ असुल्दै आएका छन् । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांक अनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन् ।

ती विद्यालयमा १८ लाख बालबालिका अध्ययनरत छन् । राजधानी उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका १ हजार ६ सय निजी विद्यालयमा ८ लाख बालबालिका अध्ययन गर्छन् ।

उपत्यकामा सञ्चालित निजी विद्यालयहरुले बाबु–नानीहरुको नयाँ भर्नाका लागि र सोही विद्यालयमा अध्ययन गरी कक्षा उत्तीर्ण भए पनि नयाँ कक्षामा नाम लेखाउन वार्षिक शुल्क (एनुअल फी) शीर्षकमा ५ हजारदेखि ७० हजार रुपैयाँसम्म असुलेको फेला परेको छ । औसतमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले हिसाब गर्दा पनि उपत्यकाका निजी विद्यालयहरुले विद्यार्थीको वार्षिक शुल्कबाट ८ अर्ब रुपैयाँ असुलेका छन् ।

त्यसरी असुलिएको रकम सदुपयोग भयो कि भएन भन्नेबारे राज्यले अनुगमन गर्नुपर्ने आवाज निजी विद्यालय सञ्चालक तथा निजी विद्यालयका शिक्षकहरुले उठाउन थालेका छन् । अनुगमन नभएकै कारण निजी विद्यालयले मनोमानी रुपमा अभिभावकसँग शुल्क असुलिरहेको उनीहरुको भनाइ छ ।

संस्थागत शुल्क मापदण्ड निर्देशिका, २०७२ ले वार्षिक शुल्क अतिरिक्त क्रियाकलाप, पुस्तकालय, खेलकुद, प्रयोगशाला, विद्यालय भवन निर्माण, मर्मत र प्राथमिक उपचार शीर्षकमा लिन पाउने व्यवस्था गरेको छ । निर्देशिका अनुसार शिक्षण शुल्कको दुई महिना बराबर वार्षिक शुल्क लिन पाइन्छ । तर, यस वर्ष निजी विद्यालयहरुको शुल्क स्वीकृत भएको छैन ।

निजी विद्यालयले मनोमानी रुपमा वार्षिक शुल्क असुलिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाको विश्लेषण छ । उपत्यकामा सञ्चालित ९० प्रतिशत संस्थागत विद्यालयको आफ्नो भवन नभएका कारण खेलकुदको खासै व्यवस्था नभए पनि शुल्क लिने गरेको थापाले बताए ।

उनका अनुसार प्रयोगशालाका नाममा एउटा माइस्क्रोस्कोप  र ठूलाठूला प्रवेशद्वार बनाएर निजी विद्यालयले शुल्क असुलिरहेकाे खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर