NewsKoseli.Com

सिन्डिकेटवालाहरूको बैंक खाता रोक्ने र सम्पत्ति छानविन गर्ने निर्णय

काठमाडौं, २१ वैशाख ।

 

सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीहरुको सम्पत्ति विवरणको सरकारले अनुसन्धान गर्ने भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललगायतका पदाधिकारीहरुको बैठकले यातायात समिति र तिनका पदाधिकारीहरुबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट यातायात व्यवस्था विभागमार्फत विवरण लिई सो विवरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपलब्ध गराउने र विभागले सम्पत्ति छानविन अघि बढाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकमा लेखी पठाउन निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ । सम्पूर्ण यातायात व्यवसायीलाई यातायात सञ्चालन गर्न अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

जम्मा एउटा सवारी पनि कम्पनीका रुपमा दर्ता हुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात कम्पनीका रुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी बैठकमा गराए । कम्पनीमा दर्ता हुन कम्तिमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनी चर्चा चलाइए पनि एउटा मात्रै सवारीलाई पनि कम्पनीका रुपमा दर्ता गर्ने निर्णय भइसकेकोे जानकारी उनले गराए ।

व्यवसायीको बीमालगायतका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सिन्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने जानकारी बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महासेठले गराए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर