NewsKoseli.Com

पूर्वअधिराजकुमारी प्रेरणालाई ३५ दिने ‘अल्टिमेटम’ !

 

पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खालि गर्न सरकारले ३५ दिने ‘अल्टिमेटम’ दिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसला अनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खालि गराउन पत्र काटेको हो ।

सिंहले सर्वोच्चमा दायर गरेको पुनरवलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो । फैसला भएको एक वर्ष बितिसक्दा समेत घरजग्गा खालि नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खालि गर्न ३५ दिने ‘अल्टिमेटम’ दिएको हो ।

घरजग्गा खालि गराइदिन भन्दै प्रेरणा राज्यलक्ष्मी सिंहलाई काटिएको पत्रमा भनिएको छ– नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका– १३, छाउनीमार्गस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५, क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्ग मिटर (१५ रोपनी) को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबी समेत पुनरवलोकन हुँदा माग दाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसला अनुसार उक्त याे पत्र काटिएको छ ।

ट्रस्टको कार्यालयले आइतबार काटेको पत्रमा पत्र प्राप्त भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्ण रूपले खालि गराउन आग्रह गरिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर