NewsKoseli.Com

सीपी गजुरेलसहित वैद्य माओवादीका ५४ नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौं, २९ वैशाख ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, राष्ट्रघाती अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध पूर्वघोषित कार्यक्रम अनुसार जुलुश प्रदर्शनका क्रममा शनिबार प्रहरीले हस्तक्षेप गरी देशैभरबाट नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।

विरोध जुलुस तथा प्रदर्शनको क्रममा काठमाडौंको रत्नपार्कबाट पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, पोलिटब्युरो सदस्यद्वय कमल चौधरी तथा पवनमान श्रेष्ठ गिरफ्नार भएका छन् । त्यसैगरी सोही मोर्चाका केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, शारदा महत, रमेश पौडेल, खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, टेकबहादुर विश्वकर्मा, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी, सुरेन्द्र राई, मधु राई, जितबहादुर लामा, सुमित्रा न्यौपाने, अर्जुनलाल श्रेष्ठ, प्रेम तामाङ, नमस्ते सायमी, कर्ण बीसी, मंगल तामाङ, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान, बद्रिहरि नेपाल, दिलबहादुर तामाङ, सुरेश तामाङ, फणिन्द्र कार्की, बालकुमार सुनारसहित २९ जनालाई गिरफ्तार गरिएको छ ।

काठमाडौंको असनस्थित नेकपा (क्रान्तिकारी) को जिल्ला कार्यालयबाट शुक्रबार पनि पार्टीका केन्द्रीय समिति सदस्यद्वय अमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य गोर्की श्रेष्ठका साथै अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहालसहित ९ जना नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

विरोध प्रदर्शनकै क्रममा शनिबार बुटवलबाट समेत पार्टीका पोलिटब्युरो सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका ५ नं. प्रदेश संयोजक केबी गुरुङ, प्रेम रिमाल र समाचार संकलनका लागि गएका पत्रकार रवि पाण्डेलाई गिरफ्तार गरिएको छ । आफू पत्रकार भएको जनाएर परिचयपत्र देखाउँदा–देखाउँदै पनि लछारपछार पारेर गिरफ्तार गरिएको पत्रकार पाण्डेले बताएका छन् । त्यस्तै, नेपालगञ्जमा पनि विरोध जुलुस र प्रदर्शनका क्रममा बाँकेका पार्टी सेक्रेटरी अर्जुन, भूकम्प, विराट, विशाल शाही र कैलालीमा देजमोका ७ नं. प्रदेश संयोजक रामबहादुर केसी, टंक कोइराला र केशव साउदललाई गिरफ्तार गरिएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले वक्तव्य जारी गर्दै यो हस्तक्षेप र गिरफ्तारीलाई एकातिर भारतीय विस्तारवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिँदै आएको हस्तक्षेपको अत्यन्तै भद्दा नमूना र अर्कोतिर आफूलाई देशभक्त, वाम तथा कम्युनिस्ट भनाउने ओली सरकारको निकृष्ट दलाली तथा राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरणको संज्ञा दिएका छन् ।

सरकारको यो कदमलाई जनताको विरोध प्रदर्शन गर्ने मौलिक अधिकारलाई कुल्चने घोर फासीवादी क्रियाकलाप भन्दै गिरफ्तार गरिएका सीपी गजुरेललगायतका सबैलाई अविलम्ब रिहाइ गर्न महासचिव वैद्यले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर