NewsKoseli.Com

‘अर्थतन्त्र तस्करको हातमा’ : गृहमन्त्री बादल

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरूले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए ।

शनिबार पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले भने– ‘आर्थिक क्षेत्रका अनियमितता, भ्रष्टाचार, तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेरमात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ ।’ प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आवश्यकता र जनताको जनादेश अनुसार नै विकास र समृद्धि गर्न विकासविरोधी तत्त्वहरूको नियन्त्रण र निस्तेज गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।

सुशासन, स्थायित्व र विकास नभएको कारण देशको विकास र समृद्धि हुन नसकेको टिप्पणी गर्दै गृहमन्त्री थापाले सुशासन कायम गर्न भ्रष्टाचार, सिन्डीकेट सहितका विकास विरोधी तत्वहरूको निर्मुल गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।

आइतबार भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले पनि तस्करीहरूको हैकम अन्त्य गने निष्कर्ष निकाले उनले जानकारी दिए । उनले भने– ‘समृद्धिको बाधक भनेको एकाधिकार प्रणाली हो, सडक मात्र होइन्, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सिन्डिकेट छ, यसलाई जरैदेखि अन्त्य गर्नुपर्छ ।’

विकासको अर्को बाधक लागूपदार्थ रहेको उनले बताए  । लागू पदार्थको करोबारले देशका कर्णधारहरूको भविष्य दलदलमा फस्दै गएको थापाले बताए ।

लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको प्रदेश ४ को सुरक्षा गोष्ठीमा छलफल भएको थापाले बताए।  लागू औषध कारोबारले धेरैको जीवन बर्वाद गरेको थापाको भनाइ थियो । थापाले मन्दिरको नियन्त्रण र व्यवस्थापन गर्न गृहमन्त्रालयले छिट्टै अभियान चलाउने बताएका छन् ।

नेपाल विकासको दृष्टिकोणमा धेरै पछाडि रहेको थापाले बताए । ‘पछाडि पर्नुको मुख्य कारण दरिद्रता र पछौटेपन हो, जसका कारण युवा जनशक्ति पलायन छन्,’ गृहमन्त्री थापाले भने– ‘सुशासन र समृद्धिबिना यी युवा फर्काउन सम्भव छैन ।’

विभिन्न प्रकारका सामाजिक हिंसा गर्नेलाई तत्कालै कारबाही गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए । महिला हिंसा, बलात्कारदेखि, गुन्डागर्दी गर्ने सबैलाई सूची बनाएर कारबाही गरिने उनले बताएकाे खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर