NewsKoseli.Com

गृहमन्त्रीको निर्देशन : ‘ठेकेदारलाई अल्टिमेटम दिनोस्, नसच्चिए जेल हाल्नोस्’

काठमाडौं, २ जेठ ।

 

सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची बनाउन र उनीहरुमाथि कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बुधबार आयोजित बैठकमा गृहमन्त्री थापाले भने– ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्टिमेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् ।’

गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले यसअघि यसै विषयमा केन्द्रित रहेर भएका निर्णयहरुको कार्यान्वयन फितलो देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न गृहमन्त्री ले निर्देशन दिएका हुन् । अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुन–कुन कार्यान्वयन भए, त्यसको विवरणसहित आउन गृहमन्त्री बादलले निर्देशन दिए ।

गृह मन्त्रालय सम्हालेलगत्तै सडक दुर्घटना र ट्राफिक जाम न्यूनीकरण तथा धुलो–धुँवा हटाउने विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले फाुगन २९ मा, चैत १ मा र चैत ४ मा यातायात तथा ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रित रहेर बैठक डाकेका थिए ।

फागुन २९ को बैठकले यातायात क्षेत्रका समस्या समाधानका लागि गृहमन्त्री संयोजक तथा गृह मन्त्राल, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सहरी विकास मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरु तथा प्रहरी महानिरीक्षक एवं काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख सदस्य रहने गरी निर्देशन तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो ।

चैत १ मा गृह मन्त्रालयमा बसेको अर्को बैठकले उपत्यकाभित्रका ‘जेब्रा क्रसिङ’ भएका ठाउँमा तत्काल रंगरोगन गरेर चिह्न राख्ने, ठूला सवारी साधन (मालबाहक गाडी) का लागि चक्रपथबाहिर पार्किङको व्यवस्था मिलाउने र त्यसको प्रक्रिया सम्बन्धित महानगर र नगरपालिकाले मिलाउने निर्णय गरेको थियो ।

सोही बैठकले चक्रपथभित्रका ‘ड्राइभिङ सेन्टर’ र गाडी मर्मतका लागि खोलिएका ‘वर्कसप’ हरुलाई चक्रपथबाहिर सार्नका लागि सम्बन्धित महानगरपालिका, नगरपालिका र ट्राफिक प्रहरीले नेतृत्व गर्ने, पर्यटक बसलाई कान्तिपथबाट तत्काल हटाउनका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले समन्वय गर्ने, उपत्यकाबाहिर जाने गाडीको बसपार्क सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले मिलाउने निर्णय समेत गरेको थियो ।

बिग्रेका गाडीहरुले सवारी आवागमनमा अवरोध पुर्‍याउने कार्य बढ्दो रहेकाले त्यसलाई व्यवस्थित गर्न विभिन्न चार ठाउँमा ‘र्‍याकर’ को व्यवस्था गर्ने, टेलिफोन, इन्टरनेट र केवलका तार जथाभाबी राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सूचना तथा सञ्चार मन्त्रालय र सम्बन्धित महानगरपालिकाको समन्वयमा व्यवस्थित गर्ने, सवारी चाप कम गर्न यात्रु चढाउन र ओराल्न मात्र दिने, पार्किङ गरी सडकमा जाम गर्नेलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय समेत उक्त बैठकले गरेको थियो ।

तर, बैठकले निर्णय गरेको दुई महिना बित्दा समेत अधिकांश निर्णयहरु हालसम्म पनि कार्यान्वयन नभएको पाइएपछि गृह मन्त्रीले बुधबारको बैठकमा ती निर्णयहरु तत्काल कार्यान्वयन गर्न बैठकमा उपस्थित पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

बुधबारको बैठकमा सडक व्यवस्थापन र ट्राफिक जाम हटाउने विषयमा कार्यपत्रहरु समेत प्रस्तुत गरिए ।


प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर