NewsKoseli.Com

विश्वकप : यसरी सुरू हुँदैछ बिहीबार रातिदेखि फुटबलको महाकुम्भ…

 

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार साँझदेखि समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिट्ठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा औपचारिक उदघाटन हुनेछ ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँच पटक विश्वकप जितिसकेको ब्राजिलसँगै साविक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्वविजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराब सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् ।

दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्वस्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् । यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतिहरुमा केन्द्रित हुने बताइएको छ । स्थानीय समय अनुसार खेल साँझको ६ बजे सुरु हुनुभन्दा आधा घन्टा अघिसम्म पनि सांगीतिक कार्यक्रम चल्ने खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर