NewsKoseli.Com

१५ वर्षमा बिहे, २१ वर्षमै विधवा : विपन्नताको यो दर्दनाक अवस्था…

घर–परिवार र गाउँका कसैले सानैमा बिहे गर्नु हुँदैन भनेर लीला रोकालाई सल्लाह दिएनन् । न त पढेर ‘ठूलो मान्छे’ बनेको नै गाउँ–घरमा कोही थिए । पढ्नुपर्छ भनेर ‘अर्ती’ दिने पनि कोही भएनन् ।

गाउँ–घरमा रीति नै यस्तै थियो– ‘बैंस’ नआउँदै बिहे गरिहाल्नुपर्ने । १५ वर्षको उमेरमा, ८ कक्षामा पढ्दापढ्दै बिहे गरेकी २१ वर्षीया लीला रोकाको सिन्दूर पुछिएको छ यतिबेला । मुस्ताङमा गत शुक्रबार भएको ट्रिपर दुर्घटनामा उनका २३ वर्षीय पति राष्ट्रे रोकाको निधन भएपछि उनका लागि संसार अँध्यारो बनेको छ ।

पाँचवर्षे छोरो साथमा लिएर टोलाइरहेकी छन् लीला । ‘म १५ वर्षकी थिएँ, उहाँ १७ वर्षका हुनुहुन्थ्यो । पढ्दापढ्दै बिहे गरियो । एक वर्षमा छोरो जन्मियो । आयस्रोत केही नाइँ । बुबा–आमा, भाइ, म अनि छोरो पाल्ने सोचमा उहाँ विदेश जानुभो । मलेसिया गएको तीन वर्षमा फर्कनुभो,’ लीलाले विगत सुनाइन्– ‘कमाउन भनी ऋण गरेर विदेश गएको, उतै बिरामी पर्नु भएछ । पैसा नकमाएरै फर्किनुभो ।’

दुर्घटनामा पतिसहित जेठाजु, देवर र आमाजू गुमाएकी लीलाको काँधमा अब सासू–ससुरा र पाँच वर्षको छोराको जिम्मेवारी थपिएको छ । मजदुरी गरेर कमाएको पैसाले छोरा पढाउने आशा बोकेर मुस्ताङ पुगेका राष्ट्रेले गत वैशाखमा पत्नी लीला र छोरा मौसमलाई दाङ लालमटिया पठाएका थिए ।

‘छोरो पढाउने भन्दै वैशाखमा दाङ झर्‍यौं । लालमटियास्थित बोर्डिङमा छोरो भर्ना गरेका थियौं । मजदुरी गरेर पैसा कमाउँछु र आफूले नपढे पनि छोरालाई पढाउँछु भन्नुहुन्थ्यो’– भक्कानिँदै लीलाले सुनाइन् । उनका अनुसार मलेसिया जाँदा लिएको ऋण तिर्नै बाँकी छ । पतिको लास लुंग्री किनारमा जल्दै गर्दा अर्धचेत बनेकी लीला अहिले न खुलेर रुन सक्छिन् न त आँसु लुकाएरै बस्न सक्छिन् ।

सासू–ससुरा र छोरालाई सम्हाल्न आँसु समेत लुकेर झार्नुपर्ने बाध्यता छ उनलाई । पलपल तड्पिरहेकी लीला आफ्नोभन्दा पनि छोराको भविष्यबारे चिन्तामा रहेको खबर बिहीबारको नागरिक दैनिकमा दिनेश सुवेदीको बाइलाइनमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर