केहीवर्ष अघिसम्म करोडाैँ मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ ।
आर्थिक वर्ष २०७२-७३ मा जिल्लामा ३४ करोड ६५ लाख रूपैयाँको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिए ।
उत्पादित आलुमध्ये २ हजार ८८७ मेट्रिक टन तरकारी जिल्लाबाहिर निर्यात भएको थियो । जिल्लामा ९२ प्रतिशत जनसङ्ख्या कृषि पेसामा संलग्न रहेको तथ्याङ्क छ । जिल्लामा बर्खे तरकारी, मौसमी तरकारी तथा बेमौसमी तरकारीखेती हुने गरेको छ ।
खलङ्गा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क, पाँचकाटिया, तिमिले, किटेनी, झाप्रा तरकारी खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । सदरमुकाम खलङ्गा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडीज्यूला, चौरजहारी, सल्लीबजार लगायतका क्षेत्रमा तरकारी आपूर्ति तथा खपत हुने गरेको छ ।
कृषकले तरकारीबाट वार्षिक २ लाखदेखि ५ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । परम्परागत खेती गर्दै आएका कृषक छोटो समयमा पर्याप्त आम्दानी हुने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । जिल्लामा सडक विस्तार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ ।