जेठको दोस्रो साता कलैयाकी सवितादेवीले छोरा नजन्माएको भन्दै घर पक्षले दिएको यातना सहन नसकी आफ्नै दुई छोरीलाई खोलामा डुबाएर हत्या गरिन् । त्यसपछि आत्महत्या गर्न खोजिन् तर प्रहरीले नियन्त्रणमा लियो । त्यो उनको बाध्यता थियो वा पागलपन, अनुसन्धानले बताउँदै जाला । तर, त्यो घटना थाहा पाउने मनहरू भने तत्काल स्तब्ध भए ।
जेठ १३ गते बिहान बर्दघाट– ८ पञ्चनगरस्थित घरमा १७ वर्षीया मनिषा घर्ती मगर आफ्नै कोठामा मृत अवस्थामा भेटिइन् । प्रहरीले अनुसन्धानको क्रममा उनका प्रेमी रुद्रनारायण चौधरीलाई पक्राउ गरेको छ । कारण जे भए पनि राष्ट्रकै ध्यान तान्नेगरी भएको यो घटनाले एक किशोरीको जीवनप्रति सबैको संवेदनालाई छोयो ।
यी दुई वटा त प्रतिनिधि घटना मात्र हुन् । यी घटनाबारे प्रहरी अनुसन्धानपछि जे परिणाम निस्किए पनि प्रहरीको तथ्याङ्क हेर्ने हो भने समाजमा हरेक वर्ष आपराधिक क्रियाकलाप बढ्दो देखिन्छ, जसले आमनागरिकको मनोविज्ञानलाई नै भयभीत पारिदिन्छ ।
नेपाल प्रहरी, अपराध तथा अनुसन्धान विभागको विगत ६ वर्षको तथ्याङ्कले समाजमा अपराधका घटना क्रमिक रुपमा बढिरहेको देखाउँछ । २०६७–६८ मा १९ हजार ५ सय ७५ रहेको अपराधका घटना २०६८–६९ मा २१ हजार ५ सय ७७ पुग्यो । अर्को वर्ष २०६९–७० मा १ हजार ५५ वटा वृद्धि भई २२ हजार ६ सय ३२ वटा भए भने २०७०–७१ मा २७ हजार ३ सय ८६ वटा अपराधका घटना भए ।
त्यसमा पनि पछिल्लो वर्ष वृद्धि भई २०७१–७२ सालमा अपराधको संख्या २८ हजार ७३ पुगेको देखिन्छ । यसरी प्रत्येक वर्ष अपराधका घटना बढ्दै जानु समाजका लागि सुखद सङ्केत हुन सक्दैन । समाजशास्त्री उत्तम भट्टराईका विचारमा यो कानूनको परिपालनाको कमजोरीको परिणाम हो, जसले समाजमा अपराधलाई झन् बढाउँछ ।
यसरी अपराध बढ्नुका पछाडि अनगिन्ति कारण छन् । अतिरिक्त प्रहरी महानिरीक्षक परशुराम खत्रीका विचारमा अव्यवस्थित बसाइँसराइ, बेरोजगारी, सूचना तथा सञ्चारका माध्यमबाट देखासिकी आदि कारणबाट समाजमा उत्पन्न जटिल मनोविज्ञानका कारणले अपराध बढेको हो । अपराधको कारखाना समाज हो । समाजमा हुने र नहुनेबीचको बढ्दो खाडल र त्यसले निम्त्याउने द्वन्द्वले बढाउने अपराध त छँदैछ, विकसित देशमा अपराध घटाउन जनसंख्याको अनुपातमा दक्ष प्रहरी खटाइन्छ तर नेपालमा त्यस्तो नभएकाले पनि अपराध नियन्त्रण गर्न कठिन भएको खत्रीको अनुभव छ ।
त्यसो त नेपालमा प्रहरीप्रतिको विश्वासमा कमी हुनुका कारण पनि व्यक्तिले कतिपय अवस्थामा कानुन हातमा लिने गरेको देखिन्छ, जसले अपराधका घटनालाई नै बढाउँछन् । समाजशास्त्री भट्टराईका विचारमा भ्रष्ट राजनीति, छिट्टै धनी हुने लालसा, पढेलेखेका व्यक्तिहरूबाट समाजको अपेक्षाअनुसारको भूमिका निर्वाहमा कमी तथा सामूहिकताको संस्कृति लोप हुनुजस्ता कारणले पनि अपराधका घटना बढ्दै गएको हो । प्रहरीकै अपराध तथा अनुुसन्धान विभागबाट प्राप्त आत्महत्यासम्बन्धी अर्को तथ्याङ्क हेर्दा झन् दिक्दारलाग्दो अवस्था देखिन्छ ।
त्यस अनुसार २०७२ सालभरिमा विभिन्न तरिका अपनाएर आत्महत्या गर्नेहरू मात्रै ४ हजार ३ सय ३२ जना छन् । यो भनेको नेपालमा प्रतिदिन करिब १२ जनाले आत्महत्या गरेको देखिन्छ । माओवादीले चलाएको दसवर्षे जनयुद्धमा करिब १७ हजार जनाले जीवन गुमाएका थिए । त्यसअनुसार दशक लामो त्यो मारकाटको श्रृंखलामा दैनिक करीब ५ जनाका दरले ज्यान गुमाए । तर, अहिले आत्मआवेग खप्न नसकी दैनिक दर्जन जनाले जीवन त्याग्नुलाई सामान्य मान्न सकिँदैन ।
यसरी समाजमा आत्महत्यालगायत विभिन्न खालका अपराधका घटना भएको तथ्याङ्कजति डरलाग्दो छ, त्योभन्दा डरलाग्दो छ– यस्ता घटनाहरू हुनुको कारण । विज्ञहरूका अनुसार, त्यस्ता कारणहरूको उपचार नगरी समाजमा अपराधमा कमी आउन सम्भव छैन । यस्ता अपराधहरूको पृष्ठभूमि राजनीतिकदेखि सामाजिक, आर्थिक, शैक्षिक र मनोवैज्ञानिक आदि क्षेत्रसम्मसँग जोडिएको पाइन्छ ।
विगतको सशस्त्र द्वन्द्व त्यस्तै पृष्ठभूमिमध्ये एक हो । त्यो राजनीतिक द्वन्द्वका घाउहरू अझै मेटिइसकेका छैनन् । ढिलोगरी गठन भएको सत्यनिरुपण तथा मेलमिलाप आयोगले गति लिइनसकेको कारणले पनि बढ्दो अपराधका तथ्याङ्कमा कमी नआएको हुनसक्ने प्रहरी अतिरिक्त महानिरीक्षक खत्रीको अड्कल छ । यस अलावा अस्थायी प्रकृतिको सरकार हुनु र राजनीतिक दलहरूले नै अपराधीलाई सरंक्षण गर्ने प्रवृत्ति कायम रहनुले पनि अपराध वृद्धि भएको कुरा खुला किताबजत्तिकै छ ।
मनोवैज्ञानिक दृष्टिले अपराधका घटना वृद्धि हुनुमा समाजमा फस्टाउँदो अपराध मनोवृत्तिको भूमिका हुन्छ । त्रिभुवन विश्वविद्यालय, मनोविज्ञानका उपप्रध्यापक खेमराज भट्ट समाजमा बाल्यकालदेखि नै राम्रो काम गर्दा स्यावासी र नराम्रो काम गर्दा सचेत गराउने परिपाटी नहुँदा पनि बालमनोवृत्ति सही किसिमले विकास नहुने गरेको ठान्नुहन्छ । परिणमतः, उहाँका अनुसार, एउटा बालक कालान्तरमा दिग्भ्रमित भएर अपराधकर्ममा फस्न सक्छ ।
आत्महत्याको सवालमा त स्पष्टतः मानसिक समस्या नै कारणको रुपमा देखापर्ने भट्ट बताउछँन् । अधिकांश आत्महत्याहरू डिप्रेसनका कारणबाट हुने गरेको पाइन्छ भने थोरै आत्महत्या चाहिँ तत्कालको आवेग नियन्त्रण गर्न नसक्दाको अवस्थामा हुन्छन् । कुनै व्यक्तिमा कुनै प्रकारको मानसिक समस्या छ भने पनि उसबाट आत्महत्या वा अरू प्रकारका अपराध हुन सक्छन् ।
परिवारमा हुने झैझगडाले बालमानसिकतामा पार्ने प्रभावले पनि अपराध मनोवृत्तिलाई हुर्काउँछ । विश्वविख्यात बेलायती मनोवैज्ञानिक जोन बौलबीका अनुसार, बालकले तीन वर्षसम्म उचित मायाममता पाएन भने उसमा नकारात्मक मनोविज्ञान विकास हुँदै जान्छ । व्यक्तिमा बढ्दो हीनताभावलाई हल गर्न नसक्दा पनि उसबाट अपराध हुने खतरा हुन्छ ।
प्रहरीका अनुसार, लागू पदार्थ दुर्व्यसन आपराधिक घटनाको प्रमुख स्रोत हो, जसलाई सहरीकरणले झन बढाउँछ । सूचना–सञ्चारले विकास गरेको विश्वग्राममा विकसित मुलुकको रहनसहन, खानपान, तडकभडक तत्काल थाहा पाउन र त्यसको नक्कल गर्न सहज छ । तर, विपन्न र विकसित समाजबीचको क्रयशक्तिमा रहेको भिन्नतालाई बिर्सेर नक्कल गर्न नपाउँदा असन्तुष्ट हुने पुस्ता पनि विकास हुँदैछ ।
त्यस्तो असन्तुष्टिले स्वाभाविक रुपमा तनाव उत्पन्न गराइदिन्छ । तनावको कारणले हिंस्रक मनोवृत्तिलाई नै बढाउँछ । परिणामतः आक्रामक स्वभावका व्यक्तिले अरूलाई मार्ने र शान्त स्वभावका व्यक्तिले आफैंलाई मार्ने प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको ठम्याइ छ । दोष समाजमा मात्र छैन, हाम्रो शिक्षा पद्धतिमा पनि छ ।
जगतका बारेमा अधिक जानकारी दिने हाम्रो शिक्षापद्धतिले जीवनको बारेमा नगन्य मात्र जानकारी दिन्छ । त्यो जानकारी झिलिमिलीपूर्ण पश्चिमा संसारका सूचनाहरूको बाढीमा प्रभावकारी सावित हुन सकेको देखिँदैन । यसले उत्पन्न गर्ने मानसिक तनाव थेग्न नसकेर पनि अपराधको घटनामा वृद्धि भएको डा. पोखरेल बताउँछन् ।
यसरी समाजमा आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा सन्निहित समस्याले अपराधका घटना हुने भएकाले ती समस्याको निराकरण गरेर अपराधलाई नियन्त्रण गर्ने उपाय निकाल्न सकिन्छ । तर, त्यो भनेको भौतिक पक्ष मात्र हो । हामी नैतिक रुपमा सबल हुनुको साटो यान्त्रिक हुँदै जानुको कारणले पनि समाजमा अपराधका घटना बढ्दै गएको समाजशास्त्री भट्टराईको विश्लेषण छ ।
तसर्थ, असहज भौतिक अवस्थामाथि विजय पाउन व्यक्तिको मानसिक वा नैतिक अवस्थालाई मजबुत राख्न सक्नुपर्छ, जुन अझ कठिन काम हो । यसका लागि असहजतालाई पनि सहन सक्ने मानसिक उपायको खोजी जरुरी छ ।
त्यो उपाय हो– योग, ध्यानजस्ता मनोउपचारका माध्यमहरूको प्रभावकारी उपयोग । योग तथा ध्यानका माध्यमबाट व्यक्तिले शरीरलाई स्वस्थ र मनलाई स्थिर राख्न सक्छ । “मानवमा उत्पन्न हुने विकारयुक्त विचारलाई काबुमा राख्ने उपाय उचित आहारविहार र विचार हो”, प्राकृतिक चिकित्सक तथा योगाचार्य डा. उमेश श्रेष्ठ भन्छन्– उचित आहारविहार र विचारका उपायहरू अपनाउने हो भने मानवको मानसिकता अपराधतिर अगाडि बढ्दैन, समाजमा शान्ति स्थापनामा योगदान पुग्छ ।
(आजको मूल्यांकनबाट)