पेशावरस्थित एग्रिकल्चर प्रशिक्षण इन्स्टिच्युटमा बन्धुकधारी चरमपन्थीहरुले हमला गर्दा ११ जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन् ।
शुक्रबार बिहानै भएको हमलाको जिम्मेवारी अझैसम्म कसैले लिई नसकेको सञ्चार माध्यमहरुले जनाएका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले इन्स्टिच्युटमा बिदा भएका कारण घटनामा मारिनेको संख्या कम भएको उल्लेख गरेका छन् । पेशावर सहर अफगानिस्तानको नजिक रहेका कारण त्यहाँ केही वर्ष यता अफगानिस्तानी चरमपन्थीहरुको हमला बढेको सुरक्षा विशेषज्ञहरुले जनाएका छन् ।
स्थानीयका अनुसार चरमपन्थीहरुले आएलगत्तै अन्धाधुन्ध गोली हान्न थालेका थिए । पेशावर सहरका प्रहरी प्रमुख ताहिर खानले रोयटर्सलाई दिएको जानकारी अनुसार प्रहरी र कमान्डोले क्याम्पसलाई पूरै नियन्त्रणमा लिइसकेका छन् ।
सन् २०१४ मा पेशावरको आर्मी पब्लिक स्कुलमा भएको हमलामा १ सय ३२ बालबालिका मारिएका थिए भने सन् २०१६ मा बच्चा खान विश्वविद्यालयका २१ विद्यार्थी र कर्मचारी मारिएका थिए ।