सरकार !
नेपाल तिम्रो मात्र घर होइन, जहाँ तिम्रो रजाइँ चलोस् । तिम्रो घरमा जस्ती बुहारी भित्र्याउ, त्यो हाम्रो चासोकाे विषय होइन। तर, सिङ्गो नेपाल हाम्रो हो, मेरो नसोच । तिमीले जुन रवैया देखाउँदै आएका छौ, यसको पनि कुनै सीमा होस् । तिमीलाई मन लागेका सबैलाई उनीहरुले चाहेको पद दिएर ती पदकै अपमान नगर।
हिजो सिङ्गो नेपालले राष्ट्रवादी भनेर पुजेको तिमीलाई पक्कै यो दिन देख्नलाई होइन। आफ्नो इज्जत ढाक्नलाई भए पनि पद प्रतिष्ठाको ख्याल रहोस्।
इतिहासमै पहिलो पटक ६ जना उपप्रधानमन्त्री मनोनयन गर्दै गर्दा पनि सरकारप्रति एउटा छुट्टै विश्वास थियो, पक्कै यो एउटा नयाँ तरिका होला सबैलाई समेट्ने र देशको तीव्र विकास गर्ने । एउटा नयाँ पद्धति होला भन्ने आशा र विश्वास सबैमा थियो । तर, सरकार ! जाडोले जनता कठ्याङग्रिएर मर्दै गर्दा अनि भोक र शोकले अत्तालिँदै गर्दा र बर्खा लाग्नै लाग्दासम्म भूकम्पपीडितलाई पुनर्वासको व्यवस्था नगरी तिमी निदाएको देखेर त्यो विश्वास निराशामा परिणत भयो । कालोबजारीको पराकाष्ठासँगै अस्ती चामल गोदाममै कुहाएर खाल्डोमा पुरेदेखि तिमीप्रति बाँकी रहेको अलिअलि आश पनि सँगै पुरिएको छ ।
सरकार ! हुन त तिमी देश खाएर शेष भएका मान्छेहरुको समूह अनि म एउटा लाचार परदेशी, जो आफ्नो मातृभूमि छाडेर अरुकै देशमा पसिना बगाउँदै छु। तर, खै तिमीले देशलाई के पो बुझ्यौ ? आफ्नै पेवा झैँ पो गर्न थाल्यौ । जनताको आँखामा छारो कहिलेसम्म हाल्छौ ? तिम्रो राष्ट्रवादको ढोंग कहिलेसम्म फुक्छौ ?
चिनी पनि धेरै खाएपछि तीतो हुन्छ, त्यस्तै तिम्रा मिठा भाषण पनि जनतालाई तीता लाग्न थालेका छन् । सामाजिक सन्जालभरि छरपस्ट व्यङ्ग्यात्मक ती आलेख र कार्टुनहरु देख्दा आफैंलाई लाज लागेर आउँछ । यही हो मेरो देशको वास्तविकता ।
सुन्दैछु, तिमीले इतिहासमा अर्को कर्तुत थप्यौ रे, दिपक पाठकलाई प्रेस काउन्सिल नेपालको सदस्य मनोनीत गर्दै राष्ट्रिय ढुकुटीबाट नौ लाख दिने निर्णय गरेर। प्रहरीको फरार सूचीमा रहेका दिपक पाठकलाई यो तिम्रो कस्तो पुरस्कार हो सरकार ?
राष्ट्रिय ढुकुटीजति अपराधी पालनपोषणमा रित्याएर भोका जनतालाई कहिलेसम्म देखाउँछौ तिम्रो चटक ? अनि कहिलेसम्म फुक्छौ खोक्रो राष्ट्रवादको ढोंग ?