वाणगंगा– १, जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा ‘मास्टर’ को परिचय बनाएका पोख्रेलले अब व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका छन् ।
उमेरले ४५ वर्ष कटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आएका हुन् । २० घार मौरीबाट व्यवसाय सुरु गरेका उनले अहिले बढाएर १ सय घार पुर्याएका छन् । आफ्नै घर वरिपरिको ७ रोपनी जमिनमा व्यवसाय गरेका पोख्रेलले अबको केही महिनापछि १ हजार घार मौरी पाल्ने योजना बनाएका छन् ।
१ सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । मौरीको मह, मैन र गोला गरी वार्षिक ३० लाख रूपैयाँसम्म आम्दानी हुने गरेको पोख्रेलले बताए ।
अहिले प्रतिकिलोग्राम महको मूल्य ८ सय रूपैयाँ छ । मौरीसहितको घारलाई ७ हजार रूपैयाँ र खालि घार ३ हजार रूपैयाँका दरले बिक्री हुने गरेका छन् । उनले खालि घार पनि वार्षिक १ सयदेखि २ सय ५० वटासम्म बिक्री गर्ने गरेका छन् ।
सबै खर्च कटाएर कम्तिमा पनि वार्षिक १५ लाख रूपैयाँ बचत हुने उनको भनाइ छ । उनले उत्पादन गरेको मह प्रदेश नं. ५ का सबै जिल्लाका साथै काठमाडौंमा समेत जाने गरेको छ । मौरीपालनका लागि उनले अहिलेसम्म ४० लाख रूपैयाँ लगानी पुर्याएका छन् ।
अर्थशास्त्र र समाजशास्त्र विषयमा डबल डिग्री गरेका पोख्रेल कुनै पनि काम सानो–ठूलो नहुने बताउँछन् । उनले भने– “मैले दुई विषयमा डिग्री गरेको छु, एक दशक अध्यापन पेसा अँगालेको छु तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।” पेशा सानो–ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरो हो भन्ने पोख्रलकाे बुझाइ छ ।
श्रीमान्–श्रीमती मिलेर मौरीपालन व्यवसाय सुरु गरेका पोख्रेलले अन्य ५ जनालाई समेत रोजगारी दिएका छन् । उनले आफ्नै ‘अर्जुन बेस्ट हनी’ नामको मह बेच्ने पसल पनि सञ्चालन गर्दै आएका छन् । पसलबाट पनि राम्रै कारोबार हुने गरेको उनको भनाइ छ । “आफूले उत्पादन गरेको मह मात्र नभई अन्य किसानले उत्पादन गरेको मह समेत खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु”, उनले भने– “त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।”
देशका लाखौं युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनु पर्ने उनको भनाइ छ । पढेलेखेकाले पनि व्यवसाय गर्न सकिन्छ भनेर आफैंले सुरुआत गरेको पोख्रेलको भनाइ छ । उनले भने– “त्यो काम आफूजस्ता पढेलेखेकाबाटै सुरुआत गर्नुपर्ने देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।” यस व्यवसायबाट आफूसँगै अरुलाई पनि रोजगारी दिन सकिने उनको तर्क छ ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल आफू देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा लागेको बताउँछन् । देश अझै पनि मह उत्पादनमा आत्मनिर्भर नभएको उनले बताए । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ ।
“मह उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”, उनले भने– “यस क्षेत्रका फूल र जडीबुटी खाएर बनेको भएकाले यहाँकाे मह स्वस्थकर र स्वादिलो छ ।” उनले प्रत्येक ३–३ महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको जानकारी पोख्रेलले दिए । एक पटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनले बताए ।
जिल्लामा ३ सयभन्दा बढी किसानले व्यावसायिक रुपमा मौरीपालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी संस्थाले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फस्टाएको सहकारीका अध्यक्ष लीलापति घिमिरेले बताए ।
यहाँ प्रशस्त मात्रामा दलहन, तेलहन लगाइने भएकाले मौरीपालनका लागि राम्रो भएको उनले बताए । यता साल, सिसौ, जंगली रुदिलो पनि राम्रै भएकाले तिनको फूल पनि मौरीका लागि राम्रो आहार हुने किसानहरू बताउँछन् । यहाँ मेलीफेरा जातका मौरी पालिने गरेको छ ।