newskoseli.Com

‘अब हात नमिलाऔं, नमस्कार गरौं’…

चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको छ ।

चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ ।

विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामी बढेको ती निकायले जानकारी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका डा. सरोज अधिकारीका अनुसार अस्पतालमा दैनिक ५०–६० बिरामी मौसमी रुघाखोकीका हुन्छन् ।

उनले भने– ‘गत वर्षको तुलनामा यस पटक रुघाखोकीका बिरामी धेरै देखिए । यसको कारण चिसो, बढ्नु र धुलो–धुवाँको असर हुन सक्छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा इन्फ्लुएञ्जा रोग पहिचान गर्न (बिरामीको र्‍यालको) निःशुल्क परीक्षण हुने गरेको छ ।

प्रयोगशालाले मङ्सिर र पुस महिनामा ३ सय ३४ बिरामीको घाँटीको र्‍यालको नमूना परीक्षण भएकामा १ सय ४६ मा सिजनल इन्फ्लुएञ्जा (ए एचवान एनवान पीडीएम नाइन) देखिएको जनाइएको छ । तर, कडा खालको इन्फ्लुएञ्जाले भने मृत्यु हुन सक्ने जोखिम रहन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इन्फ्लुएञ्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा र हाच्छिउँ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएञ्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैं पनि निको हुन्छन् । तर, विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य श्वासप्रश्वासलगायत) प्रभावितमा भने यसको जोखिम बढी हुन्छ । मृत्यु हुने सम्भावना पनि अन्यभन्दा यिनैको बढी हुन्छ ।

ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएञ्जाका सामान्य लक्षण हुन् । चिकित्सकका अनुसार बालबालिकामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट मडारिने, झाडापखाला हुने, हाच्छिउँ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने तथा आलस्य हुने लक्षण देखा पर्दछन् ।

हात नमिलाऔं, नमस्कार गरौं

इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा, पाखुराले), साबुन पानीले पटक–पटक हात धुने र सकेसम्म हात नमिलाउने नमस्कार गर्नु पर्ने डा. अधिकारीले बताए । रुघाखोकी सङ्क्रमित भएकासित दूरी कायम गर्ने (कम्तिमा एक मिटर वा दुई हात टाढा रहने) सुझाव उनले दिए ।

रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने), आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, जथाभावी नथुक्ने, सिँगान नफाल्ने, रुघाखोकी लागेका व्यक्ति कम्तिमा पाँच दिन दिनसम्म घरमै आराम गरेर बस्ने, सङ्क्रमित व्यक्तिलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खाने कुरा खुवाउने गर्नुपर्छ । त्यस्तै, भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने, दूध चुस्ने उमेरका बालबालिकालाई साविकबमोजिम नियमित स्तनपान गराउने, चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहविना औषधि नखुवाउने डा. अधिकारीको सुझाव छ ।

सिजनल इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन निरन्तर सूचना तथा सन्देश प्रवाह भइराखेको महाशाखाले जनाएको छ । सङ्क्रमणलाई प्रकोपका रुपमा देखा पर्न नदिन सबै स्वास्थ्य संस्थालाई सजग र तयारी अवस्थामा समेत राखिएको महाशाखाले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर