पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा ‘इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्ष’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षबारे पोखरामा पहिलो पटक कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र ती रोगको समाधानका विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा. बालगोपाल कर्माचार्यले जानकारी दिए ।
विशेष गरी टाउको र मस्तिष्कको चोटपटक, मेरुदण्डको चोटपटक, मस्तिष्क पक्षाघात, ब्रेन हेमरेज, छारेरोग, मस्तिष्क र मेरुदण्डको सङ्क्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई सुरुको अवस्थामा तत्काल निदानका के–कस्ता उपाय गर्ने र कसरी उपचार गर्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको डा. कर्माचार्यले बताए ।
कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा. कर्माचार्यसहित महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौंका न्यूरोक्रिटिकल विशेषज्ञ डा. जेन्टल सुन्दर श्रर, डा. प्रज्ञा आचार्य, न्यूरो अस्पताल बासबारी काठमाडौंका डा. मयुशबहादुर मुनान्कामी र डा. सुवास लोहनी, मनिपाल शिक्षण अस्पतालका डा. निकुञ्ज योगी र डा. हरि पौडेलले प्रशिक्षण दिए । कार्यशालामा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आईसीयू र न्यूरो आईसीयूमा कार्यरत ८३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता रहेको खबर राससले प्रेषित गरेको छ ।