newskoseli.Com

भक्तपुर क्यान्सर अस्पतालमा लफडा : व्यवस्थापन समिति नै दुईटा

दातृनिकाय र व्यक्ति–व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समिति र भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गरेको निर्णय गर्दै नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा गठन गरेको व्यवस्थापन समिति गरी दुईटा व्यवस्थापन समिति भएपछि विवाद चुलिएको हो ।

पहिलाको समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार होडाले व्यापक रूपमा अनियमितता गरेको तथा कमिसनमा काम गराएको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले एक साताअघि श्रेष्ठ नेतृत्वको समिति खारेजीको गर्ने निर्णय गरेको थियो । श्रेष्ठ नेतृत्वको समिति भक्तपुर क्यान्सर अस्पतालमा जान सकेको छैन भने नगरप्रमुख प्रजापति नेतृत्वको समितिले अस्पतालमा गएर काम गर्न थालेको छ ।

पहिलका अध्यक्ष श्रेष्ठ भने आफू नै वैधानिक अध्यक्ष भएको दावीसहित विभिन्न सांसददेखि स्वास्थ्यमन्त्रीसम्ममा पुगेर अस्पतालको अवस्थाबारे जानकारी गराउँदै भक्तपुर नगरपालिकाले गठन गरेको समितिलाई हटाउन माग गरिरहेका छन् । सञ्चार माध्यममा भ्रष्टाचारका समाचार बाहिरिएको र स्थानीय वासिन्दाले लिखित ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले यसबारे जानकारी लिन नगरप्रमुख सुनील प्रजापतिको नेतृत्वमा लगातार दुई दिन अस्पताल पुग्दा पनि अध्यक्ष श्रेष्ठ र महासचिव होडा सम्पर्कमै नआएपछि नगरपालिकाले बैठक बोलाएर उक्त समिति खारेज गरिएको निर्णय गरेको थियो ।

नगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गर्दै अध्यक्ष श्रेष्ठ नेतृत्व समिति खारेज गरी नगरप्रमुख प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको थियो । नयाँ समिति गठन गरेपछि बसेको बैठकले श्रेष्ठ नेतृत्वको समितिले गरेका विभिन्न निर्णय खारेज गर्दै कर्मचारीको पक्षमा निर्णय गरेको थियो ।

यता, पहिलो समितिका अध्यक्ष श्रेष्ठले अस्पतालमा भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको जिकिर गरेका छन् । गैरसरकारी र गैरनाफामूलक सामुदायिक भक्तपुर क्यान्सर अस्पताल स्वायत्त संस्था भएकाले नगरपालिकाको हस्तक्षेप अवैधानिक भएको जिकिर उनले गरेका छन् ।

नगरपालिकाको कदमविरुद्ध अदालत जाने तयारी गरेको बताउँदै यसबारे कानुनी परामर्श भइरहेको जानकारी उनले दिए । भ्रष्टाचार भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रले छानबिन गर्नुपर्नेमा नगरपालिकाले हस्तक्षेप गरेको आरोप उनले लगाए । अस्पतालमा भएको हस्तक्षेपबारे संसदमा बोलिदिन सांसद प्रकाशमान सिंह, गगन थापा र महेश बस्नेतलाई आग्रह गरेको उनले बताए ।संसदको मंगलबारको बैठकमा सांसद महेश बस्नेतले नगरपालिकाको हस्तक्षेप रोक्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

अस्पतालका सम्पूर्ण कर्मचारीले नगरप्रमुख प्रजापति नेतृत्वको नयाँ समितिलाई स्वागत गरेर अस्पतालमा राम्रो व्यवस्थापन आवश्यक रहेकामा नगरपालिकाले नेतृत्व लिँदा अस्पतालको संरक्षण हुने बताएका थिए । नगरपालिकाले समिति गठन गरेपछि अघिल्लो समितिका अध्यक्ष श्रेष्ठ र महासचिव होडा अस्पतालै नआएको जानकारी अस्पताल प्रशासनले दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर