सडक मार्ग नभएपछि मोरङको पहाडी क्षेत्र जाँते–५ मा रहेको कोलुङ झरना ओझेलमा परेको छ । रमणीय पहाडी दृश्य र दुर्लभ वनस्पति पाइने भए पनि सरोकारवाला निकायको सडक विस्तारमा ध्यान जान नसक्दा उक्त झरना ओझेलमा परेको हो ।
चुरे–पहाडी क्षेत्रबाट बग्दै मोरङ झर्ने झरनाको महत्वका बारेमा स्थानीयवासी सबैलाई थाहा भएको र यसको संरक्षण प्रचार–प्रसार र विकासमा सबै मिलेर लाग्नुपर्ने जाँते–५ का स्थानीयवासी नरसिंहबहादुर राईको भनाइ छ ।
जाँते पर्यटन प्रबर्धन समितिका संयोजक इन्द्र ढकालका अनुसार राज्यको ध्यान जान नसक्दा पौराणिक मान्यता बोकेको यो झरना ओझेलमा परेको बताउछन् । जाँते गाविसका खरिदार प्रेमबहादुर विश्वकर्माका अनुसार कोलुङ झरनाका बारेमा स्थानीयवासीले सम्भावना अध्ययन गर्न र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका छन् । तर यसको विकासका लागि कतैबाट केही सहयोग हुन नसकेको उनि बताउ छन्।
चारैतिर पहाडले घेरिएको खोँचको ओडार भएर झर्ने यो झरनाको सौन्दर्य हेर्ने जो कोही पनि मोहित हुन्छन् । मोरङको एक मात्र यो झरनाको संरक्षण र सम्बर्धन गर्न सके देशको पर्यटन विकासमा टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।
सो झरना हेर्ने वार्षिक १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक सो झरनामा पुग्ने गरेको जाँते पर्यटन प्रबर्धन समितिका संयोजक इन्द्र ढकालको भनाइ छ । रासस