newskoseli.Com

महँगो ब्याजकाे लोभमा जनतामाथि ३० लाख ऋण, सबै कुम्ल्याएर कर्मचारी फरार !

गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ । आधारभूत आवश्यकता पूरा गर्न समेत उनीहरूले साहुमहाजनसँग ऋण लिनैपर्ने बाध्यता छ ।

तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिव ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन् । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्छ, शान्तिपुर गाउँ । बटेश्वर गाउँपालिका– ५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिव ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए । तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन् ।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन् । जसोधाले मासिक बचत गर्ने गरी पाँच जनाका दरले पाँच वटा समूह बनाइन् । सदस्यहरूले प्रतिमहिना तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले । जम्मा गरेको तीन वर्ष बित्यो । तीन वर्ष पूरा भएपछि आफूलाई आवश्यक परेको भन्दै सदस्यहरूले जम्मा गरेको पैसा संस्थाकी कर्मचारी जसोधाले निकालेर व्यक्तिगत काममा प्रयोग गरिन् ।

उनले ब्याजसहित सो पैसा छिट्टै फिर्ता गर्ने आश्वासन दिएकी थिइन् । गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन् । जसोधाले बिस्तारै गाउँका समान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्यादरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन् ।

काे–काे डुबे, कति–कति रकममा ?

अत्यन्तै चतुर स्वभावकी जसोधाले पछि आफूलाई नै ऋण चाहिएको भनेर सबैसँग पैसा मागिन् । त्यतिबेला आफू संस्थाको सहजकर्ता कर्मचारी भएकाले ऋण सहजै निस्केको र बिनाझन्झट आम्दानी गर्ने उपाय आफूसँग रहेको भन्दै सबै सदस्यलाई फकाएको पीडित सुवेदा खातुन सम्झिन्छिन् ।

आफू आबद्ध चार वटा लघुवित्त बैंक र साहुबाट गरी ३ लाख २० हजार रुपैयाँ कर्जा लिएको खातुनले बताइन् । उनले निर्धन लघुवित्तबाट ५० हजार, स्वावलम्बन लघुवित्तबाट ३० हजार, फर्वार्ड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र साहुसँग १ लाख रुपैयाँ गरी ३ लाख २० हजार ऋण लिइन् ।

बैंक र साहुसँग लिएको पैसा खातुनले जसोधालाई ३६ प्रतिशत ब्याजदरमा ऋण दिइन् । तर, सबै रुपैयाँ लिएर जसोधा शान्तिपुर गाउँ छाडी भागेपछि खातुनको बिचल्ली भएको छ । ‘सर हामी त बरबाद भयौं, हाम्रो सबै पैसा डुब्यो,’ उनले रुँदै भनिन्– ‘पति अझै गाली गर्छन्, कहिलेकाहीं त कुटपिट पनि गर्छन् ।’

जसोधाबाट पीडित शान्तिपुरकै ३५ वर्षीया जहिरा खातुनले पशुपालनको भरमा सात जनाको परिवार चलाउँदै आएकी छन् । उनले पनि लोभमा परेर नेरुडे लघुवित्तबाट ६० हजार, फर्वार्डबाट ५० हजार, छिमेकीबाट ३० हजार, ग्रामीणबाट ५० हजार र २० हजार सापटी गरी २ लाख १० हजार बनाएर जसोधालाई ऋण दिइन् । तर, पैसा नतिरी जसोधा भागेपछि जहिरा पनि चिन्तित बनेकी छन् । ‘पैसाको कुरा चलेपछि मलाई चक्कर आउन थाल्छ,’ उनले भनिन्– ‘कहिलेकाहीं त सोच्दासोच्दै बेहोस पनि भइहाल्छु ।’

लोभले बिलापमा परेका स्थानीय र छट्टु कर्मचारीको बदमासीसम्बन्धी यो खबर कमलेश ठाकुरको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर