newskoseli.Com

कोरोना भाइरसको ‘महामारी’ : छैन सरकारको तयारी !

नेपाल भ्रमण वर्ष २०२० को सुरुआतसँगै नेपालमा कोरोना भाइरसको उच्च जोखिम भन्ने कोकोहोलो मच्चाइएको छ । छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रन सक्ने उच्च सम्भावना रहेको तर त्यसको रोकथामका लागि सरकारले पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

चीन र नेपालबीचमा मानिसको आवतजावत बाक्लिँदै गएकाले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले बेलैमा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

उक्त भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिकालगायतका मुलुकमा फैलिएको देखिएकाले नेपालमा पनि फैलने सम्भावना उच्च रहेको पुनले बताए । ‘कोरोना भाइरस संक्रमणबाट जोगिन हामीले नेपाल–चीन सीमा नाकामा विशेष ध्यान दिनुपर्छ,’ सरुवा रोग विशेषज्ञ पुनले भने– ‘मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विशेषज्ञ चिकित्सकसहितको हेल्थ डेस्क तत्काल खडा गर्नु आवश्यक छ ।’

उनका अनुसार चीनबाट नेपाल भित्रने स्थल नाकाभन्दा त्रिभुवन विमानस्थलबाट आउने यात्रीको संख्या बढी हुने भएकाले सरकारले विमानस्थलमा हेल्थ डेस्क स्थापनालाई प्राथमितामा राख्नुपर्छ । उक्त भाइरस मानिसमा जनावरबाट पनि सर्ने सम्भावना उच्च भएकाले सतर्क रहनुपर्ने उनले बताएको खबर सुनील सापकोटाको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर