newskoseli.Com

‘कोरोना होइन, मौसमी रुघाखोकी मात्र !’

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना भएको हल्ला र आशंका चले तापनि कोरोना नभई मौसमी रुघाखोकी मात्र भएको जिल्ला अस्पतालकी डा. मेलिना हमालले जानकारी दिइन् । ‘शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्नेजस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ’– डा. हमालले भनिन् ।

‘सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यति मात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यहीं फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौं ।’ उनले भनिन् ।

अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्ने लगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाइएको डा. हमालले बताइन् । पाँच जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार सुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामी स्वस्थ भएर पनि पहिलेको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् ।

दैनिक औषधि खाएपछि आफूहरु पहिलेको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए । सरसफाइमा ध्यान नदिँदा गाउँभरिका सबै मान्छे बिरामी परेको स्वास्थ्यकर्मीले बताएकाले अबदेखि सधैं आफू, आफ्नो परिवार, घर–आँगन, गाउँघर सफा राख्ने बोहोराले बताए । आफूहरु सञ्चो भएर पहिलेको जस्तै खेतीपातीको काममा जुटेको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर