नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवकलाई कोरोना भाइरस (कोभिड– १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवकलाई श्वास–प्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ ।
ट्रान्जिटमै वा हवाई यात्रामा उनलाई भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ । अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए ।
हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए को खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।