newskoseli.Com

कोरोना लागेर निको भएका नेपाली के भन्छन् ? यस्तो छ उनको अनुभव

नेपालमा पहिलो पटक कोरोनाभाइरस प्रमाणित भएका नेपालगञ्जका एक युवक निको भएर नियमित कामकाजमा फर्किएका छन् । अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन् तर उनी चाहिँ घरमै स्वस्थ भएर अस्पताल फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ मा चीनबाट नेपाल फर्किएका ती युवक बाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ । मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ । आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोनाभाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ ।’

पृष्ठभूमि र अस्पतालकाे व्यवहार

ती बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगञ्जसम्मको यात्रा पूरा गरी घर पुग्दा उनलाई ज्वरो आयो । नेपालगञ्जबाट उनी तत्काल काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे । सामान्य बिरामीसरह दुई घन्टा लाइन बसेर ल्याब परीक्षण गराए । ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकू अस्पतालको विशेष कक्षमै भर्ना गरियो ।

‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छाडें । अस्पताल छाडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो । अस्पताल पुग्दा कोरोनाभाइरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएको रहेछ, यो सुनेर म आत्तिएँ । अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो । मेरा लागि अस्पतालमा बस्नु भनेको जेलजीवन बिताए जत्तिकै कठिन थियो ।’

उनले अस्पताल छाडे । अस्पताल प्रशासनले पनि लाचारी देखायो । ‘डाक्टरहरू स्वयं पनि यो रोगसँग डराएको पाएँ र आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्कें’– उनले भने । कोरोनाभाइरसको औषधि अस्पतालले पनि दिन नसक्ने उनले बुझेका थिए । ‘माघ २३ मा अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैंले गरें’– उनले भने ।

उनी एक सातापछि परीक्षणका लागि फेरि अस्पताल पुगे । ती बिरामीले भने– ‘मेरो र्‍यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो । अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो तर मैले मानिनँ ।’ सुरुकै अवस्थामा पहिचान भई उपचार गरे कोरोनाभाइरस घरमै पनि निको पार्न सकिने उनको अनुभव छ ।

घरमा विशेषतः तातो सुप, तातो पानी, जाउलोजस्ता खाने कुरालाई नियमितता दिएकै कारण निको भएको उनी बताउँछन् । ‘पानीलाई नै औषधि मानेर बाँचें’– उनले भनेको खबर भगवती तिमल्सिनाको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर