नेपाली कांग्रेससँगको गठनबन्धनमा बागमती प्रदेश सरकारमा सहभागी रहँदै आएको नेकपा (एमाले) का ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
एमालेको प्रदेश संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई रहँदै आएको समर्थन समेत फिर्ता लिएर प्रदेशमन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजनीनामा दिएका हुन् । मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।
एमाले संसदीय दलको पत्रमा मन्त्रहिरूको राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरिएको छ । बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेल; भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा; उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा; कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी; स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री विन्दु श्रेष्ठ थिए ।







