रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् ।
कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । १२ र मलेसियामा, ४ कुवेतमा,२/२ साउदी अरब– कतार– सिरियामा तथा १ जना जर्जियामा बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ ।
सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङ अन्तर्गत सूचना तथा परामर्श केन्द्रमा परेको निवेदनअनुसार उनीहरु विदेश गएर बेपत्ता भएका हुन् ।
धादिङको उत्तरी क्षेत्रका पाँच गाविसबाट बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, , कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार लगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएको सामी परियोजना कार्यक्रम संयोजक गङ्गा सुवेदीले बताए ।
परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेको सुवेदीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । रासस